सवारी दुर्घटना हुनेको सङ्ख्या घट्दा राजस्व बढ्यो

आर्थिक वर्ष २०७९-८० मा ट्राफिक प्रहरी कार्यालय स्याङ्जाले राजस्व सङ्कलनमा वृद्धि गरेको छ भने दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या कमी आएको बताएको छ ।ट्राफिक प्रमुख प्रवीण आचार्यले ट्राफिक प्रहरीले एक करोड ७२ हजार राजस्व सङ्कलन गरेको  बताउनुभयो । ट्राफिकले चार हजार ९२२ मोटर साइकल, एक हजार ८९ ट्रक, एक हजार ६६९ बस, तीन हजार २५४ जिप र कार, एक हजार ४२९ ट्याक्टर, अन्य ७६४ गरी  १३ हजार १२७ सवारी साधनलाई कारबाही गर्दै उक्त राजस्व सङ्कलन गरेको हो ।

आव ०७८ -७९ मा नौ हजार ९१९ सवारी साधनलाई कारबाही गर्दै ७० लाख ८४ हजार राजस्व सङ्कलन ट्राफिक प्रहरीले गरेको थियो । ट्राफिक प्रहरीले सबै भन्दा धेरै मोटर साइकलबाट ४० लाख चार हजार राजस्व सङ्कलन गरेको हो । यस्तै दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या अगिल्लो आर्थिक वर्ष भन्दा २८ जनाले कमी आएको छ ।

आव ०७९-८० मा यहाँ १८ वटा सडक दुर्घटनामा १२ जनाको मृत्यु भएको आचार्यले बताउनुभयो । दुर्घटनामा १० पुरुष, एक महिला र एक बच्चाको मृत्यु भएको हो भने १३ जना घाइते भएका हुन् । अगिल्लो आबमा २५ दुर्घटनामा ४० जनाको मृत्यु भएको थियो । यस्तै ट्राफिक प्रहरी कार्यालयले आव ०७९-८०मा दुई लाख २० हजार ४९६ जनामा जनचेतना फैलाएको छ । दुर्घटना न्यूनीकरण तथा ट्राफिक  नियम पालना गराउने उद्देश्यले जनचेतना फैलाएको हो ।

सहायक हवलदार हेम बहादुर मल्ले दुई हजार ८९० पटक जनचेतना फैलाउँदा जिल्लाको धेरै नागरिकमा जनचेतना पुगेको बताउनुभयो । अगिल्लो अबमा ४१५ पटकमा ३३ हजार ७२५ जनामा जनचेतना ट्राफिकले फैलाएको थियो । जिल्लामा रहेका २१ जना ट्राफिक प्रहरीको सक्रियतामा राजस्व सङ्कलन बढी हुँदा दुर्घटनामा कमी ल्याउन सफल भएको मल्लले बताउनुभयो ।