गृहमन्त्री पनि अनुसन्धानको घेरामा आउनु पर्छः एमाले नेता दाहाल

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले १ सय किलो सुन तस्करी उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको संलग्नता बिना हुन नसक्ने भन्दै गृहमन्त्री अनुसन्धानको दायरामा आउनुपर्ने माग राखेको छ।

बिहीबार बसेको राष्ट्रियसभाको बैठकमा बोल्दै नेकपा एमाले राष्ट्रियसभाका दलका नेता देवेन्द्र दाहालले गृहमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनेकुरा नभएको भन्दै अब गृहमन्त्री पनि अनुसन्धानको घेरामा आउनुपर्ने बताउनु भयाे।

उहाँले गृहमन्त्री, अर्थमन्त्रीलाई जानकारी नभई यति ठूलो परिणामा सुन तस्करी हुनै नसक्ने बताउनु भयाे। उहाँले सिंगो विमानस्थलको सुरक्षा व्यवस्था कस्तो छ? त्यसको जवाफ कसले दिने? भन्दै प्रश्न गर्नु भयाे। उहाँले सुरक्षा व्यवस्थामा खटिएका कर्मचारी, भन्सार कर्मचारी र गृहमन्त्री एवं अर्थमन्त्री अनुसन्धानको दायरामा आउनुपर्ने बताउनु भयाे।

यही साउन ३ गते नेपालमा ठूलो परिणाममा त्रिभुवन विमानस्थलको माध्यमबाट सुन तस्करी भएको छ। त्यसपछि पनि हाम्रो बैठक बसेको थियो। सो बैठकमा सत्ता पक्षकै र हामीले केही विषय उठाएका थियौँ। यतिबेला नेपाल सुन तस्करीको ट्रान्जिक्ट प्वाइन्ट भएको छ। जब सरकार कमजोर हुन्छ, जब राज्य स्वयं यस कुरामा संलग्न हुन्छ यो भझै मौलाएर जान्छ, यतिबेला ठिक त्यस्तै भएको छ। यस्तो गम्भीर घटना गृहमन्त्रीको संलग्नता बिना हुनसक्ला र? त्यसैले यो नैतिकताको विषय रहेन, ३ गते राजीनामा दिएको भए नैतिकताको विषय हुन्थ्यो, यो त अब सम्पूर्ण सुरक्षा र भन्सारमा रहेका कर्मचारी अनुसन्धानमा आउनुपर्छ। सुन तस्करी काण्डको जरैदेखि छानबिन गर्न उच्चस्तरीय संसदीय छानबिन समिति बनाउनुपर्छ। त्यसमा राष्ट्रियसभाका मान्यहरु पनि हुनुपर्छ।’ दलका नेता दाहालले सुन तस्करीमा उच्च तहको नेतृत्व सामेल भएपनि अनुसन्धानको दायरामा ल्याउन नसकेको बताउनु भयाे।