धरानमा भोली राति १२ बजेसम्म निषेधाज्ञा जारी

सुनसरीको स्थानीय प्रशासनले धरानमा निषेधाज्ञा जारी गरेको छ। जिल्ला सुरक्षा समितिको बैठकले आज राति १२ बजेदेखि भोलि राति १२ बजेसम्म लागू हुने गरी निषेधाज्ञा जारी गरिएकाे सुनसरीका प्रहरी उपरीक्षक प्रभु ढकालले बताए।

जिल्ला प्रशासन कार्यालय सुनसरीले डेंगु संक्रमण बढिरहेको र जनस्वास्थ्य आपतकालीन् अवस्था क्षेत्र घोषणा गर्ने गरी सम्बन्धित निकायमा सिफारिस गरिएको स्थितिमा सभा/सम्मेलन गर्न निषेधाज्ञा जारी गरिएको बताएकाे छ। जारी निषेधाज्ञमा धरान उपमहानगरपालिका भित्र सामाजिक, धार्मिक, राजनीतिक सभा/सम्मेलन नगर्न भनिएको छ ।

धरान प्रवेश गर्ने नाका तरहरा, नहडा, झण्डा चोक, पानबारी र भेडेटारमा सुरक्षा सतर्कता बढाइएको छ । धरानमा गोरु काटेर खाएको र मन्दिर अगाडि चर्च बनाएको भन्दै केही हिन्दु समर्थकले शनिबार प्रदर्शनको आह्वान पनि गरेका छन्।

सामाजिक सद्भाव खल्बलिनसक्ने कुरालाई ख्याल गरेर प्रशासनले निषेधाज्ञा जारी गरेको बताइएको छ । यसैबीच धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले आपसी सद्भाव कायम राख्न अपिल पनि गरेका छन् ।