छात्रवृत्ति कोटाका विद्यार्थीसँग शुल्क मागे कारबाही हुने

छात्रवृत्ति कोटाका पढेका विद्यार्थीसँग शुल्क मागेको गुनासो आएपछि काठमाडौं महानगरपालिकाले छानबिन तथा अनुगमन गरी कारबाही गर्ने भएको छ।

बिहीबार महानगरपालिकाले चालु शैक्षिक सत्रको कक्षा ११ मा छात्रवृत्ति कोटाबाट भर्ना भएका विद्यार्थीसँग विद्यालयहरूले शुल्क मागेको गुनासो आएपछि छानबिन तथा अनुगमन थालेको काठमाडौं महानगरपालिकाको शिक्षा सल्लाहकार सस्मित पोखरेलले जानकारी दिए।

उनका अनुसार विभिन्न माध्यमबाट १० वटा विद्यालयले शुल्क लिएको भन्ने उजुरी महानगरपालिकामा आएको छ।

‘तीन दिनदेखि अनुगमन गर्दा गोल्डेन गेट, ग्लोबल, सिफल सेकेण्डरी स्कुल, काठमाडौं मोडेल कलेज, एभरेष्ट फ्लोरिडा, सिसिआरसी गरी ६ वटा विद्यालयको अनुगमन गर्दा एभरेष्ट फ्लोरिडाबाहेक अरू सबै विद्यालयले कुनै न कुनै रूपमा शुल्क माग गरेको देखिएको छ,’ उनले भने, ‘सिफल स्कुलले मासिक ९ हजार ५ सय रुपैयाँसम्म माग गरेको देखियो। उनीहरूले पुस्तकालय, प्रयोगशाला, अतिरिक्त कक्षा, अतिरिक्त क्रियाकलाप, दर्ता जस्ता विभिन्न शीर्षकमा शुल्क माग गरेको देखिएको छ।’

अनुगमनपछि विद्यालयहरूले छात्रवृत्ति कोटामा भर्ना भएका विद्यार्थीहरूसँग कुनै पनि शीर्षकमा शुल्क नउठाउने बताए पनि शुल्क उठाउने विद्यालयहरूलाई कारबाही गर्ने महानगरपालिकाले तयारी गरेको छ।

काठमाडौं महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ मा जेहेन्दार, विपन्न, असहाय तथा गरिब, अपाङ्ग, महिला, दलित, जनजाति, द्वन्द्व पीडित र सहिद परिवारका विद्यार्थीलाई समावेशी आधारमा छात्रवृत्ति उपलब्ध गराउनुपर्ने व्यवस्था छ। उक्त व्यवस्थाअनुसार भर्ना भएका विद्यार्थीसँग कक्षा ११ र १२ मा कुनै पनि प्रकारको शैक्षिक शुल्क लिन पाइँदैन।

महानगरपालिकाका अनुसार अनुगमन टोलीमा शिक्षा विभागका शिक्षा अधिकृत नेत्रनारायण पौडेल, मेयरको सचिवालयबाट सस्मित पोखरेल र सहरी योजना आयोगबाट सहायक विज्ञ शैलेन्द्र झा छन्। उक्त टोलीले गत मंगलबारदेखि छानबिन र अनुगमनको काम सुरू गरेको हो।

सेताेपाटीबाट