२४ घण्टा भित्र उत्तरी गाजा खाली गर्न इजरायली सेनाको निर्देशन

इजरायली सेनाले उत्तरी गाजामा रहेका प्यालेस्टाईनी नागरिकलाई २४ घन्टा भित्र ठाउँ छोडेर दक्षिणी क्षेत्रमा जान निर्देशन दिएको छ ।
संयुक्त राष्ट्रसंघका अनुसार हमास लडाकुविरुद्ध कारबाही जारी राखेको इजरायली सेनाले उत्तरी गाजाका बासिन्दालाई त्यहाँ नबस्न र ठाउँ खालि गर्न भनेको हो । इजरायली सेनाले दिएको आदेश अनुसार उत्तरी गाजाका ११ लाख नागरिकले आफ्नो घर छाड्नु पर्ने छ । जुन गाजापट्टीको आधा जनसंख्या हो ।गाजाको  जनसंख्या २३ लाख छ ।
सेनाको यो निर्देशनपछि उत्तरी गाजाका बासिन्दा घर छाडेर दक्षिणी क्षेत्रतिर लागेका छन् ।महिला तथा केटाकेटीहरू सक्ने जति सामान बोकेर गाजाको सडकमा निस्किएको तस्वीर तथा भिडियोहरु अन्तर्राष्ट्रिय सञ्चार माध्यममा प्रकाशन प्रसारण भएका छन् ।
गत शनिबार हमासले इजरायलमाथि आक्रमण गरेपछि त्यहाँ अहिले युद्ध जारी छ । हमासको आक्रमणबाट १ हजार ३०० नागरिक मारिएका छन् । जसमा इजरायली र केही विदेशी नागरिक छन् । मारिनेमा १५० जना हमासले बन्धक बनाएकाहरु पनि रहेको बिबिसीले जनाएको छ । इजरायलले हमास लक्षित गरि गरेको कारबाहीमा भने १ हजार ५०० जना प्यालेस्टायनी नागरिक मारिएका छन् ।
इजराइलमाथि हमासको भयानक आक्रमणपछि हमास लडाकु समूहलाई निमिट्यान्न पार्ने लक्ष्यका साथ जमिन आक्रमण गर्नुअघि सेनाले उत्तरी गाजा छोड्न आदेश दिएको हो ।
सन् २००७ देखि गाजामा शासन गरेको हमासले भने आदेशलाई खारेज गरेको छ । उसले प्यालेस्टिनीहरूलाई आफ्नो घरमै रहन र कब्जा गरेर छेडिएको मनोवैज्ञानिक युद्धको सामना गर्न दृढ रहन आह्वान गरेको छ ।
इजरायली सेनाको आदेशले यस अघिदेखि नै इजराइली हवाई हमला र नाकाबन्दीको सामना गरिरहेका सर्वसाधारण र सहायताकर्मीहरू आतङ्कित भएका अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् ।