कोशीका मुख्यमन्त्री केदार कार्कीले आज पद तथा गोपनीयताको सपथ

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आज पद तथा गोपनीयताको सपथ लिनुभएको छ।  प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा प्रदेश प्रमुख पर्शुराम खापुङले मुख्यमन्त्री कार्कीलाई सपथ गराउनुभयो ।

गठबन्धन दलहरुबीच भएको सहमति अस्वीकार गर्दै कार्की नेकपा (एमाले) को सहयोगमा शनिबार संविधानको धारा १६८ (५) अन्तर्गत मुख्यमन्त्री नियुक्त हुनुभएको हो ।

नेपाली काँग्रेसको संस्थागत निर्णयविरुद्ध उभिदै मुख्यमन्त्री बन्नुभएका कार्कीले आज सानो आकारको मन्त्रिपरिषद् गठन गर्नुभएको छ । उहाँले एमाले र काँग्रेस डा. शेखर कोइराला समूहबाट एक–एक जना मन्त्री नियुक्त गरी मन्त्रिपरिषद् गठन गर्नुभएको हो ।

मुख्यमन्त्री कार्कीलाई मुख्यमन्त्री बनाउन विशेष भूमिका निर्वाह गर्नुभएका इलामका सांसद शम्सेर राईलाई आफ्नो समूहबाट मन्त्री नियुक्त गर्नुभएको छ भने सहयोगी दल एमालेबाट पूर्व कृषिमन्त्री समेत भइसक्नुभएका इलामकै सांसद तथा एमाले संसदीय दलका उपनेता राम रानामगरलाई मन्त्रिपरिषद्मा समावेश गर्नुभएको छ ।

नवनियुक्त मन्त्रीहरुलाई प्रदेश प्रमुख खापुङले पद तथा गोपनीयताको सपथ गराउनुभयो । केन्द्रीय सत्ता गठबन्धन र आफ्नै पार्टी काँग्रेसको निर्णय नमानेर काँग्रेस नेता डा. कोइराला समूहबाट मुख्यमन्त्री बनेपछि शनिबार मात्र प्रधानमन्त्री प्रचण्ड, काँग्रेस सभापति शेरबहादुर देउवा र डा. कोइरालाबीच सत्ता गठबन्धनलाई बलियो बनाउने भन्दै लिखित समझदारी बनेको थियो ।

तर, आइतबार मन्त्रिपरिषद् विस्तार गर्न गठबन्धन दलसँग डा. शेखर कोइरालाले गर्नुभएको सहमति पनि पालना भएको देखिएको छैन । एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले अहिले कोशीमा सर्वदलीय सरकारको आवश्यकता नभएको भन्दै अन्य दलबाट मन्त्री नियुक्त गरे एमाले सरकारमा सहभागी नहुने सन्देश दिएपछि कार्कीले गठबन्धन दललाई सरकारमा समावेश नगर्नुभएको बुझिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *