म सोच्छु-मानिसका रूपमा जन्मन पाउनु नै मेरो जित हो : अध्यक्ष ओली

केपी शर्मा ओली, नेकपा (एमाले) अध्यक्ष, तस्विर : रासस

संसारमा बाँच्न कठिन छ, किनकि मृत्यु साथसाथै हिँडिरहेको हुन्छ । हरेक पटक मृत्युलाई छक्याएर, त्यसबाट छलिएर वा त्यसका कारणहरूबाट जोगिएर मान्छे बाँचेको छ । एकै छिनमा मान्छे मर्न सक्छ, त्यसैले बाँच्न सावधान हुनुपर्छ । बाँच्नलाई हरदम प्रयास गर्नुपर्छ, मर्न असावधान भइदिए पुग्छ ।

साधारणतया मानिसको जिन्दगी उसै सफल छ । मानव जीवन पाउनु नै सफलता हो । जीवन पाएपछि त्यो बाँच्नु सफलता हो । सम्झौं न, कोभिड–१९ आयो, डेंगुको लहर चल्यो तर पनि हामी त बाँच्यौं । ती खतराबाट जोगिएकै कारण हामी बाँच्न सक्यौं । बाँचेकै कारण सबै कुरा देख्न, सुन्न र बुझ्न पाइएको छ अनि केही गर्न पनि पाइएको छ । केही भन्न पाइएको छ । अर्थात्, जसको जे उद्देश्य छ, त्यो गर्न पाइएको छ ।
यो संसारको हरेक जीवको पहिलो प्रयास बाँच्न खोज्नु नै हुन्छ । बाँचेपछि सचेत मानिसले देश र समाजका लागि केही गर्न खोज्छ । सचेत नहुने जीव पनि बाँच्नचाहिँ खोज्छ, त्यही हो जिजीविषा । बाँचेपछि नै मानिसलाई भइरहेको अवस्थामा चित्त बुझ्दैन, थप सुख वा प्रगति खोज्छ । यही कुराको वरिपरि नै मानिसको सफलता–असफलता निर्भर हुन्छ ।

जित र हार, सफलता र असफलता मानिसका आकाङ्क्षासँगै जोडिएर आउँछन् । मानिसका इन्द्रियहरू शिथिल भएपछि मात्रै प्राप्तिका चाहनाहरू सकिँदै जान्छन् । उसको क्षमताले केही गर्न सक्दैन । त्यसपछि नै ऊ जितको सपना देख्न छाड्छ । दुःखकष्ट आइनपरोस् भन्नेमा सीमित हुन थाल्छ । पीडा भोग्नु नपरोस्, यी आँखाले नराम्रो देख्नु नपरोस् भन्ने सोच्न थाल्छ ।

मानिसको आफ्नो जीवन सहज र सुखपूर्ण जसरी हुनुपर्छ, त्यसै गरी अरूका निम्ति पनि उपयोगी हुनुपर्छ । जीवनको सार्थकता र महत्त्व त्यसमै निहित हुन्छ । सामान्य मानिसले जिन्दगीको ४० प्रतिशत उमेर सक्रिय ढङ्गमा काम गर्न सक्छ । दैनिक आठ घण्टाको दरले काम गर्दा मानिसले १३–१४ वर्ष काम गर्छ । यति समय सक्रिय रहेर काम गरेको आम्दानीबाटै आफू र आफ्नाप्रतिको उत्तरदायित्व वहन गर्ने हो । यसरी कुनै मानिस जिम्मेवार भएर अघि बढ्न र सफल हुन सकेन भने जिन्दगीलाई जित्न बडो गाह्रो पर्छ ।

मानिसको जीवनमा गन्तव्य मुताबिकका जित र हार हुन्छन् । कति लामो गन्तव्य छ, कति ठूलो उद्देश्य छ र प्राप्ति केलाई मान्ने भन्ने कुराका आधारमा मानिस सफल–असफल हुन्छ । कतिपय सफलता नै घीनलाग्दा पनि हुन्छन् त कतिपय प्रशंसायोग्य र महान् । पकेटमारले कसैको खल्ती रित्याइदिन पाउँदा सफलता पाएको ठान्छ, जुन घीनलाग्दो सफलता हो । अरूलाई दुःख दिएर वा रुवाएर पाएको सफलता घीनलाग्दो हुन्छ । सफलता त यस्तो होस् जसले कसैलाई दुःख नदेओस्, नरुवाओस् । देशको बृहत्तर हितलाई गन्तव्य मानेर अघि बढ्दा मिलेको सफलताले सबैको भलो गर्छ । अरूलाई खुसी पार्दै पाएको सफलता गर्व गर्नलायक हुन्छ । जितको सवालमा पनि सन्दर्भ त्यही हो । कसैले कुनै मानिसलाई मारेर जित भएको ठान्छ भने बुझ्नुपर्छ– मारिने मानिससँग मार्ने डराएको थियो । मारिने मानिसको अस्तित्वको त्रास मेटिए पनि मार्नेको जित भएन । कसैलाई लखेट्दा पनि जित हुँदैन, अर्को प्रतिशोधको तयारी मात्र हुन्छ । भगाएर वा लखेटेर केही पनि जितिँदैन । कसैलाई मनाएर जित्नु पो वास्तविक जित हो । यसरी जितको महत्त्व त्यसको उद्देश्यमा निर्भर रहन्छ ।
मेरो व्यक्तिगत जीवनमा उति साह्रो हार–जितको अनुभव नै गर्नुपरेको छैन । किनकि जित्दा कहिल्यै अरूलाई होचो देखिनँ । हार्नेलाई हेप्न पनि खोजिनँ । म सोच्छु– मानिसका रूपमा जन्मन पाउनु नै मेरो जित हो । अनेक पटक खोलाले बगाउँदा पनि बाँचेँ । बाँच्नु भन्नु एउटा संयोग पनि त हो । यस्ता अनेक संयोगले बाँचेको म, त्यो पनि त मेरो सफलता नै हो ।

मलाई टेबलटेनिस खेल्न मन पर्छ, कहिलेकाहीँ खेल्छु । त्यो एउटा खेल हो, त्यहाँ हार–जित भन्नु त्यस बखतका लागि खेलको अन्त्य हुनु हो । र, को बढी उत्कृष्ट भनेर बुझिनु हो । मेस्सी र एम्बाप्पे उस्तै खेलाडी हुन्, ती कसैले पनि हारेका छैनन् । कसैले गोल्डेन बुट पाउँछन् त कसैले कप । हारेको भए त यस्तो केही पनि हुँदैनथ्यो । हारेको भए रजत, कास्य वा सेकेन्ड, थर्ड कोही पनि हुँदैनथ्यो । तसर्थ, जित भन्नु उत्कृष्टताको मापन मात्रै हो । हार–जित केवल जुवाको खालमा हुन्छ । मैले कहिल्यै जुवा खेलिनँ, त्यसैले मैले निराशाजनक हार बेहोर्नु परेन ।

कहिलेकाहीँ म कसैद्वारा पछारिएँ भने, त्यो मलाई पछार्नेले खुसियाली मनाइरहेको अवस्थामै प्रत्याक्रमणको तयारी गरिरहेको हुन्छु । यो मानवीय प्रवृत्ति हो । र, म जब पछारिन्छु तत्कालै उठिहाल्छु । मलाई उठ्ने प्रेरणा दिन्छन्, महान् उद्देश्यहरूले । ‘समृद्ध नेपाल, सुखी नेपाली’ योभन्दा उत्तम अर्को कुनै गन्तव्य हुनै सक्दैन । र, योभन्दा अर्को मेरो कुनै सुख पनि छैन ।

मानिसले आफ्नो अहङ्कार र तुष्टि पूरा गर्न पाउँदा सफलता मिलेको ठान्छ, तर त्यो क्षणिक हो । हाम्रो इतिहास हेर्दा पनि थाहा हुन्छ, हामी लामो समय शत्रु साध्ने काममा अल्झियौं । कुनै पनि विषय टुङ्गिसकेको हुन्छ, तर अर्को पक्षलाई दुःख दिएको दियै गरिएको हुन्छ भने योभन्दा खराब कुरो अर्को केही हुँदैन । यस्तो प्रवृत्तिले अन्त्यमा वंशनाश, शक्तिनाश र राज्यनाशको अवस्थामा पुर्याउँछ । जीवनमा मैले राजनीति गरेकै कारण विगतमा मेरा बुबा र आफन्तले समेत दुःख भोग्नुपरेको छ । राज्यसत्ताले मेरो रिस मेरा आफन्तमाथि पोखेको थियो । अब यस्ता कार्यलाई कसरी जित भन्नु ? कसरी सफलता भन्नु ? त्यो त सत्ताको उन्माद मात्रै थियो ।

स्वाभाविक रूपमा मानिसलाई प्रिय कुरा सुन्न, देख्न, सुँघ्न, स्पर्श गर्न र महसुस गर्न मन लाग्छ । तर कहिलेकाहीँ हामीले मन नपराएका मानिससँग भेट्नुपर्ने हुन सक्छ, तिनलाई हेर्न, सुन्न र देख्नपर्ने अवस्था आउन सक्छ । प्रिय–अप्रिय जेसुकै अवस्था अघिल्तिर आओस् मभित्र समभाव छ भन्ने कुरा हुन सक्दैन । हाम्रो शरीर नै यसरी निर्मित छ कि, कानले नराम्रो कुरा सुन्दा आँखाले आँसु बरर झारिदिन्छन् ।
अपमान कसैलाई पनि राम्रो लाग्दैन । कुनै गल्ती गरेका कारण अपमान भएको छ वा व्यक्तिगत तथा सङ्कीर्ण स्वार्थपूर्तिका निम्ति गरिएको छ भन्ने कुरा छुट्याउनुपर्छ । कुनै समय म पाटनको साँघुरो गल्लीमा बस्थेँ, राति डेरा फर्कनुपर्थ्यो । भुस्याहा कुकुरहरूले घेर्थे । ती कुकुरहरू आफ्नो अधिकार खोसिन लागेको बुझ्थे र मलाई झम्टन्थे । तर यथार्थ त त्यो होइन । सम्पूर्ण रूपमा तिनले नबुझेरै त्यो व्यवहार गरिरहेका हुन्थे । रिस त उठ्थ्यो, तर त्यहाँ रिसाएर के काम ? हामीले आफू अपमानित भएको महसुस गर्ने र रिस पोख्ने तह पनि त बुझ्नुपर्छ । कोसित हामी रिसाउँदै छौं ?

मुख्य कुरा हाम्रो गन्तव्य निश्चित हुनुपर्छ । त्यसपछि आइपर्ने अपमान वा चोटले यात्रालाई रोक्न सक्दैन । उदाहरणका लागि, म सगरमाथा आरोहण गर्न जाँदै छु भने मलाई लुक्लासम्म जहाजले लैजान्छ, त्यसपछि उकालो–ओरालो त प्रशस्तै गर्नुपर्छ । उकालो सजिलो हुँदैन, थकाइ लाग्छ, पसिना आउँछ । तर, म त सगरमाथा उक्लिने उद्देश्य राखेको मानिस, त्यो उकालो कसरी कठिन होला र ? मलाई थाहा छ, आनन्दसँग वा सहज ढङ्गमा सगरमाथा पुगिँदैन, थुप्रै कठिनाइको सामना गर्नुपर्छ । तर टुप्पोमा पुगेपछि यात्राका सारा कष्ट भुलिन्छ । मैले त्यसैले भनेको गन्तव्य स्पष्ट हुनुपर्छ ।

मेरो गन्तव्य यो देशलाई समृद्ध बनाउने हो । म काँडाघारी फाँडेर फूलबारी बनाउन चाहन्छु । काँडाले घोच्दैमा म रोकिन्नँ । मेरो गन्तव्य फूलबारी लगाउने हो भने, काँडाका सानातिना घोचाइमा म किन अपमानित भएको महसुस गर्छु र ? युद्ध जितेका सिपाहीहरूको सारा शरीर दुखेको हुन्छ, चोटपटक जताततै हुन सक्छ, तर पनि ती खुसी हुन्छन् । मेरो अवस्था ठीक त्यस्तै हो ।

तपाईं एउटा चकलेट पनि बिनामूल्य पाउनु हुन्न, म त देश समृद्ध र जनता सुखी बनाउने यात्रामा हिँडेको मानिस । कुनै अपेक्षा र कामनाले मात्रै यो गन्तव्यमा पुग्न सकिँदैन । त्यसका निम्ति तपस्या आवश्यक पर्छ । त्यो तपस्या गर्दा मूल्य अवश्य चुकाउनुपर्छ । हामीले पञ्चायत मात्र होइन, राजसंस्थासमेत फाल्ने क्रममा अनेक खाले मूल्य चुकाएका छौं । यो उद्देश्य प्राप्तिका क्रममा कैयौं हन्डर त खाइएकै हो । अब हन्डरका अघिल्तिर ‘लौ न मरे निँ’ भन्ने हो भने त गन्तव्य कहिल्यै भेटिँदैन ।

निश्चित रूपमा मानिस आफ्ना काम र योगदानबापत गरिएको मानसम्मान मन पराउँछ । तर मान–अपमानको पनि अवधि हुन्छ । कसैले कसैलाई सदाका निम्ति मान वा अपमान गरिरहन सक्दैन । मानसम्मानले अरूलाई पनि सोही मार्गमा हिँड्न प्रेरित गर्छ । त्यही कारण कसैलाई मानसम्मान गरिँदा सकेसम्म बढी मानिस भेला पारिन्छ । र, समाजमा उत्तम सन्देश फैलियोस् भनी बढी प्रचार पनि गरिन्छ ।
जीवनमा मैले अनेक पटक अपमान भोगेको छु । तर म तिनलाई मेरो मस्तिष्कमा भेला पारेर राख्दिनँ । तिनलाई बिर्सिदिन्छु । कुनै बेला पीडा दिएका कुरा पुनः सम्झिएर किन पीडित हुनु ? म आफू अपमानित भएको क्षणलाई किन साँचेर राखूँ ? अपमान पनि त पीडा नै हो । हामी हाम्रा घरका दराजमा त कमसल वा नराम्रा कुरा नराखी बहुमूल्य सामान मात्रै राख्न चाहन्छौं भने, मस्तिष्कमा अपमानको भारी किन राखिरहनु ? म त सकेसम्म सकारात्मक र राम्रा कुरा आफ्नो दिमागमा राख्छु । ‘हार’ र ‘अपमान’ लाई मैले आफ्नो मस्तिष्कबाट ‘डिलिट’ गरिदिएको छु ।

अपमान वा हारबाट सिर्जित पीडालाई सहनसक्ने क्षमता वा बाध्यता दुई किसिमले बुझ्नुपर्ने हुन्छ । हिरासतमा रहँदा जसरी मैले पिटाइ खाएको थिएँ, त्यो सहनसक्ने खालको थिएन । त्यो पिटाइले म मर्न सक्थेँ, तर मरिनँ । सहनु त्यस बखत मेरो बाध्यता बन्यो । मैले गोलघरमा बिताएका चार वर्ष सहनसक्ने अवस्थाका थिएनन् । तर मेरो सास गएन, प्राण अल्झिरह्यो । त्यो प्राण नै जाने ढङ्गको अवस्था थियो, त्यो अपमानभन्दा धेरै माथिल्लो श्रेणीको सजाय थियो ।

हामीले कतिपय अवस्थामा आफ्नो खुसीको चाबी अरूकै हातमा थमाइदिएका हुन्छौं । कुनै सिनेमा हेर्दा हामी हिरोलाई लागेको चोटपटकबाट दुख्छौं, वास्तवमा त्यो हिरोलाई केही पनि भएको हुँदैन, ऊ त कतै रमाएर बसिरहेको हुन्छ । हिरोले पाएको दुःखबाट हामी दुःखी बन्छौं, उसले पाएको जित वा सफलताबाट हामी खुसी हुन्छौं । मलाई कहिलेकाहीँ यस्तो पनि लाग्छ— हामीले समाजलाई फिक्सनमुखी बनाइसक्यौं । यी सबै मानिसको सचेतताका परिणाम हुन् । मान–अपमान वा जित–हारका कुरा पनि मानव चेतनाका नतिजा हुन् । जीवनको यो उमेरसम्म आइपुग्दा जित–हार, मान–अपमान निकै भोगेको छु, तर दुवै खाले अवस्थामा म किञ्चित् विचलित वा उत्ताउलो बनिनँ । यसलाई आफ्नो जीवनको स्वाभाविक अवस्थाका रूपमा लिएँ । सायद यही कारण नै म आजको यो अवस्थासम्म आइपुगेको हुँ । एउटा कुराचाहिँ सधैं हेक्का राखेँ— मैले सफलता पाउँदा प्राप्त हुने जिम्मेवारीलाई निष्ठापूर्वक निर्वाह गर्नुपर्छ । ‘सफलता’ लाई ‘असफल’ हुन नदिनेतर्फ मेरो ध्यान सदा केन्द्रित भइरह्यो ।

केपी शर्मा ओली, अध्यक्ष
साभारः इकान्तिपुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *