आज दशैंको सातौं दिन फूलपाती भित्र्याइँदै

आज बडा दशैंको सातौं दिन हिन्दु धर्मावलम्बीहरुको घरमा शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदैछ। घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक पूजा गरी दुर्गालाई आह्वान गर्ने चलन छ। घरको पूजाकोठामा आज नौ प्रकारका बोटविरुवा र फलफूल राख्ने चलन छ।

आज उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष पूजाकोठामा भित्र्याइन्छ। आजै हनुमानढोका दरबारको दशैंघरमा गोरखाबाट ल्याइएको फूलपाती भित्र्याउने परम्परा छ। गोरखाबाट धादिङको जीवनपुरसम्म दशैंघरका पुजारीसहित मगर जातिका ६ जनाले फूलपाती ल्याउँछन्। त्यहाँबाट काठमाडौंको जमलसम्म यतैबाट गएका ब्राह्मण जातिका ६ जनाले ल्याउने परम्परा छ।

त्यहाँबाट हनुमानढोकासम्म निजामती सेवाका उच्चपदस्थ अधिकारी, गुर्जुका पल्टनसहित ब्याण्डबाजा र पञ्चैबाजा बजाएर सांस्कृतिक नाचगान गर्दै लावालस्करका साथमा फूलपाती हनुमानढोका भित्र्याइन्छ। तर, यो वर्ष कोरोनाभाइरस संक्रमण जोखिमका कारण विधि मात्र गरेर फूलपाती भित्र्याइने भएको छ।

यो वर्ष सीमित व्यक्तिले विधि मात्र पु¥याएर फूलपाती भित्र्याउने हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ। त्यसकारण नाचगान र भीडभाड हुने छैन। नेपाली सेनाले पनि सैनिक मञ्च टुँडिखेलमा प्रतीकात्मक बढाइँ मात्र गर्ने जनाएको छ।

बढाइँ समारोहमा राष्ट्रपति तथा नेपाली सेनाका परमाधिपति विद्यादेवी भण्डारी प्रमुख अतिथिका रुपमा सरिक हुनेछिन्। नेपाली सेनाका प्रवक्ता सन्तोष बल्लभ पौडेलले यस पटक महामारीका कारण संस्कृति र परम्परालाई जीवन्तता दिन प्रतीकात्मक रूपमा मात्र फूलपाती बढाइँ गरिने बताए। उनका अनुसार, यस वर्षको बढाइँ थोरै कार्यक्रम सामेल गरिएकाले करीब आधा घण्टाको हुनेछ।

कोरोना जोखिमका कारण समारोहमा पाहुनाको संख्या कटौती गरी १०० जनामा सीमित गरिनेछ। सबै पाहुनालाई मास्क र स्यानिटाइजरको प्रयोग अनिवार्य गरिएको छ।

इतिहाकार एवं प्राज्ञ दिनेशराज पन्तका अनुसार दुर्गापूजा एवं विजयोत्सवसँग जोडिएको फूलपाती बढाइँको लामो इतिहास रहे पनि टुँडिखेलको हालको फूलपाती बढाइँ पृथ्वीनारायण शाहको समयदेखि हुँदै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *