आज दशैँकाे आठौं दिन दुर्गा भवानीको पूजाआराधना गरिदै

आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज नेपालीले वडादशैँका रुपमा दुर्गा भवानीको पूजाआराधना गरी भव्यरुपमा मनाउँदै छन् ।

वडादसैँको आठौँ दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआजा गरिन्छ । महाअष्टमीका दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व रहेको छ । आजको दिन शास्त्रसम्मतरुपमा दशैँघर, कोतलगायत राज्यका विभिन्न शक्तिपीठमा पशु बलि दिई दुर्गा भवानीको विशेष पूजाआजा गरिन्छ । दुर्गा सप्तशती, श्रीमद्देवीभागवत् र देवी स्तोत्र पाठ गरिन्छ ।

विवेकशील र अविवेकशील प्राणी दुवैले मोक्षप्राप्तिको चाहना गर्ने हुनाले देव मन्दिर र यज्ञ यज्ञादिमा विधिपूर्वक बली दिनाले ती पशुले मोक्ष प्राप्त गरी माथिल्लो योनीमा जन्म लिने कुरा शास्त्रमा वर्णन गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताउनुभयो ।

“सात्विक, राजस र तामस तीन किसिमका पूजाको वर्णन शास्त्रमा गरिएको छ, सात्विक जल, चन्दन र अक्षतालगायत षोडशोपचारले गरिने पूजा हो, सात्विक र पशुबलिसहितको पूजालाई राजस पूजा भनिन्छ, राजसका साथै मदिरा पनि चढाएर गरिने पूजालाई तामस पूजा भनी शास्त्रमा परिभाषित गरिएकाले पशुबलि पनि शास्त्रीय हो”– उहाँले भन्नुभयो ।

ब्राह्मणका लागि भने पशुबलि बर्जित गरिएको पनि अध्यक्ष गौतमले बताउनुभयो । आसुरी प्रवृत्तिको नाश गर्न देवीलाई शक्तिशाली बनाई पशुको मुक्तिका लागि पनि पशुबलिको महत्व रहेको पनि उहाँले बताउनुभयो । दुर्गा शप्तशती चण्डीको आठौँ अध्यायमा पनि यससम्बन्धी चर्चा भएकाले पशुबलिलाई अशास्त्रीय भन्न नमिल्ने डा गौतम बताउनुहुन्छ ।