सम्भावित दुर्घटनाबाट बचाउन राप्ती नदीमा उद्धार टोली तैनाथ

सम्भावित दुर्घटनाबाट बचाउन बाँकेको कम्दीस्थित राप्ती नदीमा उद्धार टोली तैनाथ पारिएको छ । दुर्गा मुर्ति विसर्जन कार्यलाई सुरक्षित बनाउन र हुन सक्ने सम्भावित दुर्घटनाबाट बचाउन राप्ती नदीको सिधनीया घाटमा उद्धार टोली खटाइएको बाँकेका प्रजिअ श्रवणकुमार पोखरेलले जानकारी दिनुभयो ।

प्रजिअ पोखरेलका अनुसार राप्तीसोनारीको अगैयास्थित राप्ती नदीमा पनि गोताखोरसहितको उद्धार टोली परिचालन गरिएको छ । कतिपय ठाउँहरुमा दुर्गा मुर्ति विसर्जनका क्रममा नदीमा डुबेर वेपत्ता हुने तथा ज्यान समेत जाने घटनाहरु घटिरहेको हुँदा सर्वसाधारणलाई नदीबाट हुने सम्भावित दुर्घटनाबाट बचाउन गोताखोरसहितको टोली परिचालन गरिएको प्रजिअ पोखरेलले बताउनुभयो ।

राप्ती नदीको सिधनियाघाट र अगैयास्थित घाटमा बाँकेका विभिन्न स्थानमा राखिएका दुर्गाका मुर्तिहरु विसर्जन गरिने परम्परा छ । ती घाटमा अत्यधिक भीडभाड हुनेगर्छ ।

मुर्ति विसर्जनका क्रममा निस्कने रैलीलाई सभ्य, शान्त, अनुशासित एवम् मर्यादित बनाउदै आफ्नो टोल र समुदायमा रहेका दुर्गा भवानीको मुर्ती बिसर्जन कार्य साँझ ५ बजेभित्रै सम्पन्न गर्न प्रजिअ पोखरेलले जिल्ला बासीलाई आग्रह समेत गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *