जाजरकोटलाई केन्द्रबिन्दु बनाएर शुक्रबार राती गएको भूकम्पमा परी घाइते भएकाहरूलाई उपचारमा सहजताका लागि नेकपा (एमाले) नेपालगन्ज उपमहानगरपालिका कमिटी र अनेरास्ववियु बाँकेकाे संयुक्त आयोजनामा नेपालगञ्जमा रगत सङ्कलन गरिएको छ ।
नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्त सञ्चार केन्द्र बाँकेसँगकाे सहकार्यमा रक्तदान कार्यक्रममा ९३ पिन्ट रगत सङ्कलन भएको अनेरास्ववियु बाँकेका अध्यक्ष प्रकाश विकले जानकारी दिनु भयो । उहाँका अनुसार बिरामीको लागि आवश्यक परेमा अब रगतको अभाव नहुने जानकारी दिनुभयो । नेकपा (एमाले) नेपालगन्ज उपमहानगरपालिका कमिटीका सचिव माेहित शाहका अनुसार आवश्यकताका आधारमा आइतबार पनि रगत संकलन गरिने जानकारी दिनु भयाे ।उहाँका अनुसार जाजरकोट र रूकुममा भुकम्प पीडितका घाइतेको बाँके जिल्लामा उपचार भइरहेकोले अन्य आवश्यक सहयोग समेत गर्ने बताउनु भयो ।
बिरामीलाई रगतको अभाव हुन नदिनका लागि रगत सङ्कलन गरिएको रक्त सञ्चार केन्द्र नेपालगञ्जका प्रमुख उपेन्द्र रेग्मीले बताउनुभयो । उहाँले घाइतेहरूको उपचारमा सहजताका लागि रगतको प्रशस्त मौज्दात रहेको जानकारी दिनुभयो ।
भूकम्पका घाइतेहरूलाई शुक्रबार बिहान ९ बजेदेखि नेपालगञ्ज भेरी अस्पतालमा उपचार शुरु गरिएको थियो । हाल भेरीमा ३७ जना बिरामीको उपचार भइरहेको छ । एक जनाको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ । सबै खतरामुक्त छन् ।