जुम्लामा अटो दुर्घटना हुदा दुईजनाको मृत्यु भएको छ। गएराति नाग्माबाट बिरामी बोकेर देवारगाउँतर्फ जाँदै गरेको अटो दुर्घटना हुँदा २ जनाको मृत्यु भएको हो।
मृत्यु हुनेमा हिमा गाउँपालिका १ देवारगाउँका अटो चालक अन्दाजी ४५ वर्षका पदमबहादुर शाही, सो गाउँका अन्दाजी ४२ वर्षका बलि रोकाया रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक उमेश चन्दले जानकारी दिए।
त्यस्तै प्रहरीका अनुसार अटोमा सवार अन्दाजी ४०-४१ वर्षको नन्द रोकाया घाइते भएका छन्। घाइतेलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानतर्फ पठाइएको स्थानीयले जनाएका छन्।
गएराति बिरामी लिएर अटो चालक पदमबहादुर शाही नाग्माबाट हिँडेका थिए। बड्कीगाउँको नाग्म गमगडि राजमार्गबाट राति दुर्घटना भएको हो।
राति भएकाले कसैले थाहा नपाई बिहान मात्रै जानकारी भएको प्रहरीले जनाएको छ। दुर्घटना जानकारी नहुँदा रातभर चिसोले घाइतेलाई झन असर भएको स्थानीय बताउँछन्। घटना स्थलमा प्रहरी बिहान मात्र पुगेको थियो।