शिक्षा तथा मानव स्रोत विकास केन्द्र, शिक्षक व्यवस्थापन समन्वय शाखाले प्रजनन स्वास्थ्य र घातक रोग लागेका शिक्षकको सरुवा व्यवस्थापनका लागि ‘विशेष कारणको अवस्थामा रहेका शिक्षकको व्यवस्थापन सम्बन्धी निर्देशिका, २०८०’ जारी गरेको हो ।
शाखा निर्देशक प्रेम भट्टराईले जारी निर्देशिका कार्यान्वयन गर्न गराउन सबै शिक्षा विकास तथा समन्वय इकाइ र स्थानीय तहलाई पत्राचार गरेका छन् ।
निर्देशिका अनुसार घातक वा कडा रोग वा कुनै दुर्घटनाको कारण स्थानीय अस्पताल र स्वास्थ्य केन्द्रमा उपचार हुन नसक्ने भई उपचारको सुविधा भएको स्थानमा तीन महीनाभन्दा बढी समयसम्म उपचार गर्नुपर्ने भए त्यस्ता शिक्षकको सरुवा हुनेछ ।
त्यसका लागि नेपाल मेडिकल काउन्सिलबाट प्रमाणपत्र प्राप्त चिकित्सकको रायसहित जिल्ला वा प्रदेश वा नेपाल सरकारको प्रमुखबाट सिफारिस हुनुपर्नेछ ।
कुनै महिला शिक्षकलाई प्रजनन स्वास्थ्यसम्बन्धी कडा वा घातक रोग लागेको वा कुनै घटनामा परेको र सोको उपचार नहुँदा जीवन जोखिममा पर्न सक्ने भनी चिकित्सकले राय दिएमा पनि सरुवा हुनेछ ।
विशेष कारणले सरुवा हुन चाहने शिक्षकले आवश्यक कागजात, सहमति पत्रसहित अध्यापन गर्नुपर्ने विद्यालय रहेको जिल्लाको इकाइमा निवेदन दिनुपर्नेछ ।
शाखाले सामुदायिक विद्यालयमा कार्यरत स्थायी शिक्षकलाई विशेष कारण परी अन्य विद्यालयमा कामकाज गर्न खटाउनुपर्ने भएमा त्यस्तो अवस्थाको आधार, पहिचान तथा विश्लेषण गर्न, विशेष कारण सम्बन्धी विषयलाई व्यवस्थित, अनुमानयोग्य, वस्तुनिष्ठ र वास्तविकतामा आधारित बनाउन निर्देशिका ल्याइएको जनाएको छ ।
न्यूनतम तथा अधिक सेवा अवधिको कारण विशेष कारणबाट प्राप्त गर्ने सुविधामा सहजीकरण गर्न तथा शिक्षकको कामकाज तथा स्थानान्तरणसम्बन्धी कार्यलाई व्यवस्थित र भरपर्दो बनाई निर्णय प्रक्रियालाई सरल, सहज तथा पारदर्शी बनाउन निर्देशिका जारी गरिएको शाखाको भनाइ छ ।