प्रधानमन्त्री दाहाल मंसिर १४ देखि २६ काेप सम्मेलनका लागि दुबई जाने

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (युएनएफसिसिसी)का पक्ष राष्ट्रहरुको २८औँ सम्मेलन (कोप–२८) संयुक्त अरब इमिरेट्स (युएई)को दुबईमा हुँदैछ ।

आगामी मङ्सिर १४ देखि २६ गतेसम्म हुने सम्मेलनमा नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा सहभागिता जनाउने भएको छ । वन तथा वातावरण मन्त्रालयले उच्चस्तरीय प्रतिनिधिमण्डलको सहभागितालाई प्रभावकारी बनाउन सोहीअनुसारको तयारी थालेको छ ।

मन्त्रालयले आज यहाँ आयोजना गरेको कोप–२८ मा नेपालको तयारी अवस्था र सुझाव सङ्कलन कार्यक्रममा प्रधानमन्त्री दाहालका विकास व्यवस्थापन विज्ञ डा पपुलर जेन्टलले सम्मेलनमा प्रधानमन्त्रीको सहभागिता बारे जानकारी गराउनुभएको हो । उहाँले भन्नुभयो, “यस पटकको जलवायु सम्मेलनमा प्रधानमन्त्रीको नेतृत्वमा मन्त्रीलगायत विज्ञसम्मिलित रहेको सशक्त प्रतिनिधिमण्डलले सम्मेलनमा भाग लिनेछ । सबै क्षेत्रबाट सुझाव सङ्कलन गरी नेपालले प्रस्तुत गर्ने स्थितिपत्रलाई अन्तिम रुप दिइनेछ ।”