आज धनकी देवी लक्ष्मीको पूजा गर्ने दिन

औँसीको साँझमा दीपावलीसहित धनकी देवी लक्ष्मीको पूजा गर्ने परम्परा छ। यो दिनलाई तिहारको सबैभन्दा महत्त्वपूर्ण दिन मानिन्छ।

औँसीको रातमा लक्ष्मीको उत्पत्ति भएको दिनको रूपमा यो  दिन उनको पूजा–आराधना गर्ने विधान रहेको बताइन्छ। संस्कृत भाषाका विद्वान् स्व। शिवराज आचार्य कौण्डिन्न्यायनको ‘वैदिक धर्म मूल रूपमा’ पुस्तकमा उल्लेख भएअनुसार यस दिनको उत्सवलाई ‘कौमुदी–महोत्सव’ वा ‘कौमोदिनी–महोत्सव’ पनि भनिन्छ।

सफासुघ्घर र उज्यालो भएका ठाउँमा लक्ष्मीको प्रवेश हुने विश्वास अनुरूप घरआँगन, कोठाचोटा सफासुघ्घर पारी, लिपपोत गरिन्छ। यस्तै ढोका र झ्यालमा फूलका माला र मन्दिर तथा नदीमा तोरण टाँग्ने चलन छ।

साँझ भएपछि आँगनदेखि पूजास्थलसम्म लक्ष्मीको पाइला बनाई दीपावली गरिन्छ। दीप–कलश–गणेशको पूजा गरी धनका देवता कुवेरसहित समृद्धिकी देवी लक्ष्मीको पूजा गरिन्छ। लक्ष्मीलाई प्रसन्न पार्न श्रीसुक्त पाठ गरिन्छ।

यो दिन विधिपूर्वक पूजा गर्नाले लक्ष्मी खुशी भई धन–धान्य हुने, समृद्धि प्राप्त हुने पुराणहरूमा उल्लेख भएको इतिहास पुराणकी ज्ञाता प्रियंवदा काफ्ले बताउँछिन्।

सत्य, दान, व्रत, तप, धर्म, पराक्रम र सरलता भएका व्यक्तिको घरमा लक्ष्मीले निवास गर्ने आलस्य, निद्रा, असन्तोष, अधर्म आदि दुर्गुण भएका स्थान छाड्ने विष्णुपुराणमा बताइएको छ।