आकाश रानालाई प्रहरीले खुट्टामा गोली हानेर पक्राउ

बाँकेको जानकी गाउँपालिका ४ मा प्रहरीले गोली चलाएर बाँकेकै बैजनाथ १ घर भएका हाल कोहलपुर नगरपालिका–११ बस्ने  ३० वर्षीय आकाश रानालाई पक्राउ गरेको छ । रानाको खुट्टामा एक राउण्ड गोली लागेको छ । उनको उपचार भेरी अस्पताल नेपालगन्जमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी गराएको छ । खतरामुक्त रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

तिहारको टीकाको दिन कोहलपुरमा मिनबहादुर विकलाई खुकरी प्रहार गरी गम्भीर घाइते बनाएर भागेकाेले प्रहरीले खोजीरहेको थियो । सोही क्रममा जानकी गाउँपालिकामा लुकेर बसेको सूचना पाएपछि प्रहरी नियन्त्रणमा लिएकाे छ । रानालाई पक्राउ गर्न खाेज्दा भागेकोले प्रहरीले एक राउण्ड गोली चलाएको हो ।

‘उसलाई पक्राउ गर्न लखेट्ने क्रममा गोली चलाउनु परेको हो,’ जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएसपी नारायण डाँगीले जानकारी दिनु भएको छ ।

आकाश राना लागुऔषध मुद्दामा ५ वर्ष जेल बसेर छुटेका थिए । उनीविरुद्ध गत कात्तिक २८ गते एक १० वर्षीया नाबालिकालाई जबरजस्ती करणी गरेको उजुरीसमेत प्रहरीमा परेको छ । उनले तिहारको टीकाको दिन राति ३ बजेतिर कोहलपुरमा मिनबहादुर विकलाई खुकरी हानेर घाइते बनाएका थिए । मिनबहादुरको उपचार नेपालगञ्जमा हुन नसकेपछि भारतको लखनउ लगिएको छ ।