फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको दोस्रो खेलमा नेपाल यमनसँग पराजित भएको छ ।
समूह ‘एच’ अन्तर्गत त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा मङ्गलबार साँझ भएको खेलमा नेपाल यमनसँग २-० गोलले पराजित भयो । नेपालको यो लगातार दोस्रो हार हो । एकसाता अघि समूहको पहिलो खेलमा नेपाल संयुक्त अरब इमिरेट्स (यूएई) सँग उसैको मैदानमा ४-० गोलले पराजित भएको थियो ।
घरेलु मैदानमा १३ हजार सात सय ३५ दर्शकको साथ पाएको नेपाली टोलीले दोस्रो हाफमा गोल खाएको थियो । पहिलो हाफमा औसत प्रर्दशन गरेको नेपाल दोस्रो हाफको अन्तिम २० मिनेट सम्हालिन सकेन ।
यमनको जितमा दुवै गोल दोस्रो हाफमा वैकल्पिक खेलाडीबाट सम्भव भयो । ओमार अब्दुल्लाह अलदाहीले ७२औँ र मोहम्मद अब्दुल्लाह अलदाहीले ९०औँ मिनेटमा गोल गर्दै यमनलाई महत्वपूर्ण जित दिलाउनुभयो ।