समाज रूपान्तरणका लागि सबै मिलेर बस्नु पर्दछ: पूर्व राष्ट्रपति यादव

फाइल तस्बिर

पूर्व राष्ट्रपति डा. रामवरण यादवले समाजमा सबै धर्मको सम्मान आवश्यक भएको बताउनुभएको छ । सधै धर्मका मानिस मिलेर बसेमात्र समाज रुपान्तरण हुने उहाँको भनाइ छ ।

मधेश प्रदेशको राजधानी जनकपुरधाम उपमहानगरपालिका –१४ मुजेलियामा बुधबारदेखि सुरु भएको श्री १०८ शिवशक्ति महायज्ञको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दैै उहाँले यस्तो बताउनुभएको हो । जुन ठाउँमा मान्छे मिलेर बस्दैन, त्यहाँ झैझगडा बाहेक केही नहुने उहाँले बताउनुभयो ।

इजरायलमा मुस्लिम र यहुदी धर्म मान्नेहरुविचमा अहिले लडाइ जारी रहेको चर्चा गर्नुभयो । १५ दिनमा १५ हजारभन्दा बढी मान्छेको ज्यान गएको र त्यसमा १० जना नेपालीले समेत बलिदानी दिनुपरेको उहाँले बताउनुभयो ।

आफू जन्मेको समयमा विश्वको जनसंख्या करिव तीन अर्व रहेको र अहिले सो जनसंख्या आठ अर्व पुगेको उहाँले बताउनुभयो । पूर्व राष्ट्रपति यादवले नेपालको जनसंख्या तीन करोड हुँदा विगतभन्दा उत्पादन घटेकाले ८० प्रतिशत अन्न बाहिरबाट आयात भइरहेको बताउनुभयो । उत्पादन बढाउन नसके मुलुकमा समस्या पर्दै जाने उहाँको भनाइ छ ।

चुरेको संरक्षण नगरिए यस क्षेत्रमा पानीको साथसाथै अन्नको पनि संकट आउनेभएकाले चुरिया संरक्षणका लागि तीनै तहका सरकारले ठोस कामकाज गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले यसका लागि चुरिया क्षेत्रमा बसोबास गर्ने आम नागरिकको भूमिका महत्वपूर्ण भएको चर्चा गर्नुभयो ।