राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समितिमा नरहेका सबै सांसदलाई केन्द्रीय सदस्य बनाउने निर्णय गरेको छ ।
सभापति रवि लामिछानेले सांसद रहेका तर केन्द्रीय सदस्य नभएकालाई केन्द्रीय सदस्य बनाउने प्रस्ताव बुधबारको बैठकमा पेश गरेका थिए । सभापतिको प्रस्तावलाई बैठक पारित गरेको एक केन्द्रीय सदस्यले जानकारी दिए । उनका अनुसार सात प्रदेशका सभापतिलाई पदेन केन्द्रीय सदस्य बनाउने निर्णय भएको छ ।
यसअघि रास्वपाका २१ (उपसभामुखसहित) मध्ये ६ जना सांसद मात्र केन्द्रीय समितिमा थिए । बुधबार भएको निर्णयपछि १४ जना सांसद स्वतः केन्द्रीय सदस्य बनेका छन् ।
सांसदबाट थपिएका केन्द्रीय सदस्यहरुमा डा. स्वर्णिम वाग्ले, विराजभक्त श्रेष्ठ, मनिष झा, हरि ढकाल, शिशिर खनाल, सन्तोष परियार, अशोक चौधरी, विनिता कठायत, लक्ष्मी तिवारी, चन्दा कार्की, शिव नेपाली, निशा डाँगी, तोसिमा कार्की, असिम शाह हुन् ।