नेकपा (एमाले)ले मध्यपहाडी यात्रा सुरु गरेको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीले झुलाघाटमा राष्ट्रिय झन्डोत्तोलन गरेर अभियानको आज सुरुवात गर्नु भयो ।
अध्यक्ष ओलीले नेपाल–भारतको सीमावर्ती बजार झुलाघाटबाट नेपालको राष्ट्रिय झण्डोत्तोलन गरेर यात्राको उद्घाटन गरेका हुन्। योसँगै एमालेको आजदेखि बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभज्याङसम्मको यात्रा सुरु भएको छ। यात्रा पुस १ गते सकिने अध्यक्ष ओलीले बताउनु भयो । उनले सकरात्मक परिवर्तनका लागि एमालेले मात्रै नेतृत्व गर्न सक्ने धारणा राख्नु भयो ।
‘अहिलेको सरकारीको अकर्मण्यता, अहिले देशको ओरालो लागेको अर्थतन्त्र र राजनीतिक अस्थिरता हटाउन यो अभियानले महत्त्वपूर्ण योगदान पुर्याउनेछ।’ उहाँले भन्नू भयो , ‘देशमा भएको राजनीतिक बेथिति, अस्थिरता हटाउन र राष्ट्रिय शक्ति निर्माणमा जागरण पैदा गर्न संकल्प यात्राको महत्वपूर्ण भूमिका रहने विश्वास व्यक्त गर्छु।’
अभियानका लागि पार्टी अध्यक्ष ओलीसँगै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, रामबहादुर थापा, महासचिव शंकर पोखरेलगायतका पार्टी पदाधिकारी र केन्द्रीय नेताहरू बैतडी पुगेका थिए।
यात्राका दौरानमा स्थानीय जनता, सरोकारवाला, वृद्धिजीविसँग छलफल हुने ओलीले बताए। उनले जनतासँग प्रत्यक्ष जोडिने महत्वपुर्ण अवसर भएको बताए। अभियानमा ५० लाख जनतासँग साक्षात्कार गर्ने एमालेको योजना छ।
अभियानका क्रममा जनसभा, जनभेला तथा भेटघाट, कलेज तथा विद्यालयका विद्यार्थीहरुसँग छलफल, किसानहरुसँग अन्तरक्रिया, कृषि वैज्ञानिकहरुसँग संवाद, विकास कार्यहरुको अवलोकन र नमुना काम गरिरहेका उद्यमीसँग भेटघाट गरिने छ।
ऐतिहासिक, धार्मिक र सांस्कृतिक स्थलहरुको अवलोकन, जनताका अनुभूति, गुनासा र सुझावहरुको संकलन गर्नु पनि अभियानको उद्देश्य रहेको एमालेको भनाइ छ। विकासका योजनाहरु पहाड चढ्ने तर पहाडको जनसंख्या तराई, सहर हुँदै विदेशीने क्रम बढेको भन्दै एमालेले अभियानमार्फत् यसको समाधानका उपाय पनि खोज्ने जनाएको छ।
मध्यपहाडी लोकमार्गले करिब २६ पहाडी जिल्लालाई जोडेको छ।