जसपाले माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनमा दल दर्ता गर्ने

जनता समाजावादी पार्टी, नेपालले आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्ने निर्णय गरेको छ ।

सोमबार दिउँसो पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा पार्टी अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा बसेको जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठकले निर्वाचन आयोगमा दल दर्ताको निर्णय गरेको हो ।

अध्यक्ष यादवको निजी सचिवालयका अनुसार बैठकले राष्ट्रिय सभा निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदबार चयनका लागि आगामी पुस १० गते केन्द्रीय कार्यकारिणी समितिको पुनः बैठक बस्ने निर्णय गरेको छ ।

यसका साथै, कार्यकारिणी समितिले यही पुस २५, २६ र २७ गते जसपा नेपालको राजनीतिक समितिको बैठक आह्वान गरेको छ ।