दुईजनाको मृत्यु हुने ललितपुरको बालकुमारीमा भएको प्रदर्शन र झडप प्रकरणबारे छानबिन गर्न गृह मन्त्रालयले तीन सदस्यीय छानबिन समिति बनाएको छ।
काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रहरी नायव महानिरीक्षक (डिआईजी) लालमणि आचार्यको संयोजकत्वमा समिति बनाइएको गृह मन्त्रालयले जनाएको छ।
उक्त समितिमा ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार र राष्ट्रिय अनुसन्धान विभागका उपअनुसन्धान निर्देशक वासु सिग्देल सदस्य रहेका जनाइएको छ। समितिलाई ७ दिनभित्र सत्यतथ्य पत्ता लगाइ प्रतिवेदन पेश गर्न भनिएको छ।
कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (इपिएस) परीक्षा दिन नपाएपछि युवाहरुले गरेको प्रदर्शनमा दुई जनाको मृत्यु भएको छ।
उनीहरुको मृत्यु गोली लागेर भएको आशंका गरिएपनि पुष्टि भने भइसकेको छैन। स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र गोली प्रहार समेत गरेको थियो।