कांग्रेसभित्र राजनीतिक तरंग ल्याउने इच्छा छैन: अध्यक्ष ओली

नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ कांग्रेसभित्र आफूले चलखेल गर्न नचाहेको बताएका छन्।

राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसर पारेर सत्तारुढ नेपाली कांग्रेसले सोमबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा ओलीले कांग्रेसभित्र कुनै राजनीतिक तरंग ल्याउने इच्छा आफूमा नभएको टिप्पणी बताए।

अहिलेको राज्य संचालनमा आफ्नो भुमिकासँग सन्तुष्ट गरेको कांग्रेसको तलाउमा एउटा ढुंगा फुत्त फालिदिएर कुनै तरंग ल्याउने इच्छा नभएको ओलीको जिकिर थियो।

अध्यक्ष ओलीले कांग्रेस सत्ताको अमनचैनमा रहेकाले त्यसमा खलल पार्न पनि आफूलाई मन नलागेको बताए। कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले देशलाई आवश्यक नभएको ठूल्ठूला भ्यु टावर बनाएको भन्ने अभिव्यक्तिप्रति कटाक्ष गर्दै उनले कांग्रेसको नीति एकतले घर मात्रै बनाउने हो? भनी प्रश्नसमेत गरे।

उनले भने, ‘अहिलेका राज्य सञ्चालनमा आफ्नो भूमिकासँग सन्तुष्ट रहेको नेपाली काँग्रेसको तलाउमा मैले एउटा ढुंगा फुत्त फालिदिएर कुनै तरंग ल्याउने मेरो इच्छा छैन।’

अध्यक्ष ओलीले बालकुमारी घटनामा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला जिम्मेवार रहेको बताए। मन्त्री ज्वाला पुगेपछि भीड उत्तेजित हुँदा प्रहरीको गोली लागेर दुईजना युवाको ज्यान गएको ओलीको भनाइ थियो।