लगातार दुई दिन उच्च अंकले बढेको बजारमा आज भने ‘करेक्सन’ देखिएको छ । नेप्से परिसूचक १२ अंकले घटेको छ भने दुई वर्षयताकै उच्च मूल्यको सेयर कारोबार भएको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार बुधबार नेप्से १२.१० अंक घटेको छ । मंगलबार नेप्से ५४.५४ अंकले बढेको थियो ।
कारोबार रकम पनि लगातार बढ्दै गएको छ । मंगलबार आठ अर्ब दुई करोड ३८ लाख रुपैयाँको सेयर कारोबार भएको थियो । कारोबार रकम बढेर १० अर्ब नजिक पुगेको छ । नेप्सेका अनुसार नौ अर्ब ७६ करोड ८९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । यो दुई वर्षयताकै उच्च मूल्यको कारोबार हो ।
मंगलबारको तुलनामा कारोबार रकम एक अर्ब ७४ करोड रुपैयाँ बढेको छ । यसअघि पुस ८ गते सात अर्ब ११ करोड रुपैयाँको सेयर कारोबार भएको छ ।
कारोबारमा आएका १३ समूहमध्ये चार वटा समूहको परिसूचक वृद्धि भएको छ भने बाँकी समूहको परिसूचक घटेको छ । परिसूचक २१७३.०६ विन्दुमा बन्द भएको छ । यो ६ महिनायताकै उच्च विन्दु हो । ६ महिना अगाडि साउन ८ गते नेप्से २२ सय विन्दुमा थियो ।
आजको कारोबारमा नेप्सेले २२ विन्दु पार गरेको थियो । यसदिन ६३ कम्पनीको सेयर मूल्य बढेको छ भने १८ कम्पनीको सेयर मूल्य ३१ कम्पनीको घटेको छ । चार कम्पनीको सेयर मूल्य स्थिर छ ।