अनेरास्ववियु बाँकेले जिल्लाका क्याम्पस र माध्यमिक तहका विद्यालयहरुमा संगठन विस्तार अभियान संचालन गरेको छ । जिल्लाका ८ वटै पालिकामा रहेका माध्यामिक तह कक्षा १२ सम्म अध्ययन अध्यापन गर्ने विद्यालय तथा विभिन्न क्याम्पसहरुमा संगठन निर्माण तथा पुनर्गठन गर्ने अभियान संचालन गरिएको जिल्ला संयोजक प्रकाश बि.क.ले जानकारी दिनु भयो । उहाँका अनुसार अनेरास्ववियुले संगठन विस्तारका साथै नवगठित कमिटीलाई अनेरास्ववियुको संगठनात्मक संरचना, विद्यार्थी आन्दोलन र यसको महत्व, शैक्षिक क्षेत्रमा सुधारका लागि गर्नु पर्ने अभियानका साथै संगठनमा व्यक्ति आवद्धताबाट हुने फाइदाका बारेमा प्रशिक्षण समेत संचालन गरेको बताउनु भयो ।
बाँकेको नेपालगन्जमा आज ४ वटा उच्च माध्यामिक विद्यालयहरुमा अनेरास्ववियुको संगठन गठन गरिएको उहाँले जानकारी दिनु भयो । उहाँका अनुसार नेपालगन्जको जिभिएन माध्यामिक विद्यालयको शिक्षा संकायमा पार्वती खनालको अध्यक्षतामा २१ सदस्यीय र कानुन संकायमा आशिष बुढाको अध्यक्षतामा २७ सदस्यीय कमिटी गठन गरिएको बताउनु भयो । यसैगरी मंगल प्रसाद माध्यामिक विद्यालयमा दिपक तिवारीको अध्यक्षता २७ सदस्यीय कमिटी भएको छ ।
नेपालगन्जकै महेन्द्र माध्यामिक विद्यालयमा लक्ष्मी जैसीको अध्यक्षतामा २५ सदस्यीय कमिटी गठन भएको छ ।यस्तै मोर्डन पब्लिक माध्यामिक विद्यालयमा दिवस भाटको अध्यक्षतामा २९ सदस्यीय कमिटी गठन गरिएको संयोजक बि.क.ले जानकारी दिनु भयो ।
संगठन निर्माण तथा पुनर्गठन अभियानमा अनेरास्ववियुका केन्द्रीय सदस्य तथा बाँके जिल्ला इन्चार्ज सुमन घिमिरे, महेन्द्र बहुमुखी क्याम्पसका स्ववियु अध्यक्ष माधव खत्री अन्य पदाधिकारी र सदस्य लगायत जिल्ला तहका नेताको सहभागिता रहेको संयोजक बि.क.ले जानकारी दिनु भयो ।