बर्दियाको बढैयाताल गाउँपालिकाका अध्यक्ष हिमालय त्रिपाठीले पालिका क्षेत्रभित्र बसोबास गर्ने मुक्त कमैयाको अभिलेख व्यवस्थापन गर्ने कार्य तत्कालै गर्ने बताउनु भएको छ । सो कुरा उहाँले आज कमैया महिला जागरण समाज नेपाल बर्दियाको बढैयातालमा आयोजनामा संचालित सार्वजनिक सम्वाद कार्यक्रममा बताउनु भएको हो । अध्यक्ष त्रिपाठीले स्थानीय सरकारको प्रमुखको जिम्मेवारीले पनि पालिका क्षेत्रमा कति मुक्त कमैया कमलहरीको पहिचान भएको छ त्यो अभिलेख तत्कालिन सरकारी निकायले उपलब्ध गराउनु पर्ने जानकारी गराउदा समेत जिल्लातहका निकायले हालसम्म पालिकामा अभिलेख नदिएकोले अब अन्तिम पटक जिल्ला मुक्त कमैया समस्या समाधान समितिलाई अनुरोध गरिने र त्यस पछि पनि एकिन तथ्य नपाए गाउँपालिकाले प्रमाणका आधारमा मुक्त कमैया,कमलहरी र सुकुम्बासीको तथ्य संकलन गर्ने बताउनु भएको छ ।
सार्वजनिक सुनुवाई कार्यक्रममा अध्यक्ष त्रिपाठीले कमैया महिला जागरण समाज नेपालले मुक्त कमैया र कमलहरीको व्यवस्थित पुनस्र्थापनाका लागि पटक पटक घच्घच्याइ रहेको र हालसम्म कुनै नीतिगत व्यवस्था नभएकोले यसै आर्थिक वर्षको अन्त्यसम्म पालिकाले नीति बनाउने प्रतिवद्धता समेत व्यक्त गर्नु भयो । उहाँले बढैयाताल गाउँपालिकाले मुक्त कमैयाको बृद्धिविकास, सेवा र सहयोगका लागि मुक्त कमैया पुनव्यवस्थापना कार्यविधि बनाउने र सोही आधारमा काम गर्ने बताउनु भएको छ ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष लक्ष्मीकुमारी अधिकारीले अझैपनि धेरै कानुन बनाउन बाँकी छन त्यसका लागि गाउँपालिका आफै पहल गरिरहेको र दवाव समुहले पनि निरन्तर अन्तरक्रिया गर्नु पर्ने बताउनु भयो । उहाँले गाउँपालिका आफैले विधि बनाउने आफैले कार्यान्वयन गर्ने नीतिगत अधिकार भएकोले विधिका आधारमा कार्य गर्नका लागि सबैको सहयोग आवश्यक पर्ने बताउनु भयो । मुक्त कमैयाको व्यवस्थापनका लागि सरोकारवालाले दिएको सुझावलाई आधार मान्दै तत्कालै कार्यविधि पारित गर्न आफु क्रियाशील रहेको बताउनु भयो ।
कार्यक्रम गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदीले नीति, विधि र व्यवस्था अनुसार समुदायको अवस्था परिवर्तन गर्नु पर्ने स्थानीय सरकारको दायित्व भएकोले सो कार्यका लागि गाउँपालिका निरन्तर लागि परेको बताउनु भयो । अधिकारवाला वा सरोकारवाला जो सुकैले पनि समुदायको हितमा भनिएका, दिएका सुझाव कार्यान्वयन गर्न बढैयाताल गाउँपालिका परिवार सकारात्मक हुने बताउनु भयो ।
कार्यक्रममा वडा नं ९ का अध्यक्ष विरबहादुर थारु, कमैया महिला जागरण समाजकी अध्यक्ष विरुनी थारु र मुक्त कमैयाका प्रतिनिधिहरुले कमैयाको विगतको इतिहास, भोगाइ र वर्तमानमा सेवामा पहुँच तथा अधिकार सकारात्मक विभेदका आधारमा हुनु पर्ने बताउनु भयो ।