नेपालबाट पछिल्लो एक वर्षमा ७० हजार ९१५ जना नेपाली विदेशमा स्थायी बसोवासका लागि गएका छन् । आइतबार राज्य व्यवस्था तथा सुशासन समितिले अध्यागमनको विषयमा गरेको छलफलमा अध्यागमन विभागले यस्तो जानकारी दिएको हो ।
विभागले सन् २०२३ मा नेपालबाट स्थायी बसोवास गर्नका लागि विदेश जाने नेपालीको सङ्ख्या ७० हजार ९१५ जना रहेको जानकारी दिएको हो । समिति बैठकमा बोल्नुहुँदै अध्यागमन विभागका महानिर्देशक रुद्रसिंह तामाङले सन् २०२३ मा १६ लाख ३ हजार ८३८ जना नेपाली नागरिक विदेशी जाँदा १२ लाख ६३ हजार ४६९ भित्रिएको बताउनुभयो ।
उहाँले पछिल्लो एक वर्षमा विदेश गएकामध्ये तीन लाख ४० हजार ३६९ जना नेपाली विदेशमा नै बसेको जानकारी दिनुभयो । उहाँले यस अवधिमा अध्ययनका लागि एक लाख आठ हजार ५४२ जना, अस्थायी बसोवास भिसामा ९२ हजार ३४९, स्थायी बसोवास भिसामा ७० हजार ९१५ जना र विवाह गरेर डिपेन्डेण्ट भिसामा २० हजार ६१३ जना नेपाली विदेश गएको बताउनु भयो ।
महानिर्देशक तामाङले यसरी पछिल्लो एक वर्षमा दुई लाख ९२ हजार २४० नेपाली कुनै न कुनै रुपमा विदेश बस्नेगरी गएको दाबी गर्नुभयो । उहाँले दुई लाख ९२ हजार २४० तथ्याङ्कमा भारतको भूमि भएर तेस्रो देशमा गएका नागरिकहरुको सङ्ख्या समावेश नभएको बताउनु भयो । उहाँले सन् २०२३ मा आठ लाख आठ हजार ४१५ नेपाली नागरिक श्रमिकको रुपमा विभिन्न देश गएको बताउनु भयो ।