प्रतिनिधि सभा बैठकमा गणपूरक सांसद नपुगेपछि स्थगित

प्रतिनिधि सभा बैठक स्थगित भएको छ । प्रतिनिधि सभा बिहीबार बसेको बैठकमा गणपूरक सङ्ख्या नपुगेपछि शुक्रबारसम्मका लागि स्थगित भएको हो ।

गणपूरक सङ्ख्या नपुगेपछि राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० सभामा प्रस्तुत हुन सकेन । गृहमन्त्री नारायणकाजी श्रेष्ठको तर्फबाट रोष्टममा सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले विधेयक प्रस्तुत गर्दै गर्दा एमाले सचेतक महेश बर्तौलाले संसदमा गणपूरक सङ्ख्या यकिन गर्न माग गर्नुभएको थियो ।

सभामुख देवराज घिमिरेले नेपालको संविधानको धारा ९४ बमोजिम कुनैपनि प्रश्न वा प्रस्ताव निर्णयार्थ पेश गर्न प्रतिनिधि सभाको १ चौथाइ सदस्य उपस्थित हुनुपर्ने बताउँदै ३ मिनेट जनाउ घण्टी बजाई सो सङ्ख्या यकिन गर्न कर्मचारीलाई निर्देशन दिनुभएको थियो ।