देश अति सङ्कटको मोडमा गुज्रिएको छ: ज्ञवाली


नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले देश अति सङ्कटको मोडबाट गुज्रिएको बताउनुभएको छ ।
शनिबारबाट नेकपा एमाले रामेछाप स्कुल विभागले आयोजना गरेको जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रम उद्घाटन गर्दै ज्ञवालीले देशका सबै अवयव अहिले संकटमा परेका बताउनुभयो । ‘देश चौतर्फी सङ्कटबाट घेरिएको छ’, उहाँले भन्नुभयो ।
अन्तराष्ट्रिय स्तरमा समेत देशका छवि अति कमजोर भएको उहाँले बताउनुभयो । विश्व समुदायले विश्वलाई पत्याउनै छाडेको ज्ञवालीको भनाइ छ ।
नेपालको अर्थतन्त्र अहिले अति अप्ठेरोमा रहेको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो । अहिले मुख्य बजार केन्द्रका एक तिहाइ सटर बन्द अवस्थामा रहेका उहाँको भनाइ छ ।
सरकार स्वयम्ले तस्करी र भ्रष्टाचारको समानान्तर अर्थतन्त्र चलाएकोले देश ठुलो आर्थिक संकटमा परेको उहाँले टिप्पणी गर्नुभयो । एयरपोर्टबाट नै निर्लज्जतापूर्वक क्विन्टलका क्विन्टल सुन तस्करी भइरहेको उहाँले बताउनुभयो । ‘सेटिङमा समानान्तर अर्थतन्त्र चलाउने काम भएको छ’, उहाँले भन्नुभयो ।
प्रधानमन्त्री र सरकारका मन्त्रीले नै धार्मिक र सामाजिक सद्भाव भड्काउने प्रयत्न गरी रहेको ज्ञवालीले बताउनुभयो । प्रधानमन्त्रीले जातीय राज्य दिने र संस्कृति मन्त्रीले हिन्दु र बौद्धिष्टलाई गाली गरेर कुनै एउटा धर्म विशेषलाई भड्काउने काम गर्नु त्यसको उदाहरण भएको उहाँले बताउनुभयो ।
सरकारका कामले देशका हरेक क्षेत्रमा निराशा बढ्दै गएको उहाँले बताउनुभयो । ‘देश बन्छ भन्ने विश्वास माथि सरकारले बञ्चरो हानिरहेको छ’, उहाँले भन्नुभयो ।
नेकपा एमालेबाट निर्वाचनमा भाग लिन अब पार्टीको आधारभूत तालिम लिएकै हुनु पर्ने नीति पार्टीले लिएको उहाँले जानकारी दिनुभयो । राजनीतिक रूपमा तालिम प्राप्त पार्टी कार्यकर्ता नहुँदासम्म सुन्निएर मोटाएको जस्तो अवस्था बन्ने ज्ञवालीले प्रष्ट पार्नुभयो । पार्टीका नेता कार्यकर्तालाई राजनीतिक र वैचारिक रूपमा बलियो बनाउन प्रशिक्षण कार्यक्रम सुरु गरिएको उहाँले बताउनुभयो ।
विश्व परिस्थिति र राजनीतिक परिवर्तन थाहा पाउन निरन्तर अपडेट हुनु पर्ने उहाँले बताउनुभयो । समयमा अपडेट हुन सकिएन भने असान्दर्भिक हुने उहाँले बताउनुभयो । ‘कि अपडेट हुनुपर्छ, कि आउटडेट हुनुपर्छ, तर नेकपा एमालेका नेता कार्यकर्तालाई आउटडेटेड हुने छुट छैन, किन भने नेकपा एमाले भएन भने देश बरबाद हुन्छ, देश अरूले बनाउन सक्दैन’, उहाँले भन्नुभयो ।
एमाले सत्ताको लागि नभएर समाज परिवर्तन र समृद्धिको लागि जन्मिएको पार्टी भएको ज्ञवालीले दाबी गर्नुभयो । ‘एमाले सत्ताको निम्ति जन्मिएको पार्टी होइन, एमाले सङ्घर्षको लागि जन्मिएको पार्टी हो, एमाले आवश्यक पर्‍यो भने हजारौँ वर्ष पनि लडिरहन्छ’, ज्ञवालीले भन्नुभयो ।
एमाले कार्यकर्ता जस्तोसुकै आँधी हुरीमा पनि सतिसाल जस्तै उभिने हुन सक्नु पर्ने उहाँले बताउनुभयो । त्यसको लागि पार्टीलाई वैचारिक रूपमा बलियो बनाउने, भावनात्मक रूपमा पार्टीलाई एक बनाउने, जनतासँगको सम्बन्ध जोड्ने पार्टी बनाउनु पर्ने उहाँले बताउनुभयो । ‘दुःख पर्दा साथमा नभएको पार्टी काम छैन’, उहाँले भन्नुभयो ।
जनताको आवाजलाई लिएर जनताको बिचमा जान सकिएन भने जनतासँगको सम्बन्ध टुट्ने ज्ञवालीको भनाइ छ । ‘जनताबाट टाढिएर पार्टी बन्न सक्दैन’, उहाँले भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *