भजन शिरोमणि वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको आज निधन भएको छ। ८२ वर्षीय आचार्यको अपरान्ह साढे ४ बजेतिर अचानक अक्सिजन लेभल कम भएपछि ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा निधन भएको हो ।
गएको दशैँमा लडेर उनको टाउकोमा गम्भिर चोट लागेको थियो । आचार्य विगत लामो समयदेखि बिमारी रहेका थिए। आचार्यले झण्डै ४०० गीतमा स्वर तथा संगीत दिएका छन्। स्वरसम्राट नारायणगोपालका समकालीन गायक उनी १९९९ सालमा धनकुटामा जन्मिएका हुन्।
आचार्यको पार्थिव शरीरलाई मंगलबार बिहान ९ बजे संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको परिसरमा अन्तिम श्रद्धाञ्जलिका लागि राखिने भएको छ। राष्ट्रिय सम्मानका साथ उनको बिदाइ गर्ने तयारी छ। आचार्यको नेपाली सुगम संगीतमा विशिष्ट स्थान छ ।