नेपाली राष्ट्रिय टिमकी स्ट्राइकर सावित्रा भण्डारी साम्बाले साउदी अरेबियामा भइरहेको वाफ वुमन्स च्याम्पियन्सिप अन्तर्गतको फाइनल गुमाउने भएकी छिन्। अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार फ्रेञ्च क्लब अभान्ट ग्वेंगाम्प आबद्ध साम्बाले आज जोर्डनविरुद्ध नेपालले प्रतिस्पर्धा गर्ने फाइनल खेल गुमाउने भएकी हुन्।
क्लबसँगको सम्झौताअनुसार साम्बालाई फिफा विन्डोको खेल खेल्न मात्र अनुमति छ। यसअघि समूह चरण र सेमिफाइलका खेल फिफा विन्डोमा भएका कारण उनले खेलेको थिइन्। फाइनल भने फिफा विन्डो बाहिरको खेल हो।
क्लबसँगको सम्झौता र फुटबलको व्यावसायिक मूल्यलाई सम्मान गर्दै साम्बाले फाइनल नखेल्ने एन्फाको भनाइ छ। जारी प्रतियोगितामा साम्बाले ९ गोल गरिसकेकी छिन्। सेमिफाइनलमा मंगलबार राति लेवनानलाई नेपालले २-१ ले हराउँदा बराबरी गोल गरेकी थिइन्।
साम्बाले वाफ च्याम्पियनसिपमै नेपालका लागि कीर्तिमानी ५० अन्तर्राष्ट्रिय गोल समेत पूरा गरेकी थिइन्। अब नेपालले साम्बाबिना बिहीबार जोर्डनविरुद्ध खेल्नेछ। साम्बा भने फ्रेञ्च लिग खेल्न साउदी अरेबियाबाटै फ्रान्स जानेछिन्।