राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले १४औँ केन्द्रस्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको तयारी सुरु गरेको छ । राखेपले प्रतियोगिातको मिति तय गरी तयारी समेत सुरु गरेको हो । राखेप सदस्य सचिव टंकलाल घिसिङको अध्यक्षतामा बुधबार अबेर बसेको बैठकले प्रतियोगिता २०८१ साल वैशाख ४ देखि ६ गतेसम्म काठमाडौँमा सञ्चालन गर्ने निर्णय गरेको छ । बैठकले प्रतियोगिताको उद्घाटन समारोहको प्रमुख अतिथिमा सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेललाई निमन्त्रण गर्नेलगायत निर्णय पनि गरेको छ ।
त्रिपुरेश्वरस्थित राखेपमा भएको बैठकमा प्रदेश खेलकुद विकास बोर्ड, कोशीका सदस्य सचिव हंशराज वाग्ले, मधेश प्रदेशका खेलकुद तथा समाज कल्याण विकास मन्त्रालयका सचिव चूडामणि फुयाल, प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशका सदस्यसचिव सूर्यलाल भण्डारी, प्रदेश खेलकुद परिषद्, गण्डकीका सदस्यसचिव श्रीधर शर्मा, प्रदेश खेलकुद परिषद्, लुम्बिनीका सदस्यसचिव जयप्रकाश भट्टराई, सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्यसचिव दीपक सिंह, युवा तथा खेलकुद मन्त्रालयका उपसचिव विष्णु भट्टराई, राखेपका सदस्यद्वय अञ्जन धमला र प्रकाशकुमारी कुसारी, प्रशासन विभागका प्रमुख प्रेमबहादुर मल्ललगायतको उपस्थिति रहेको थियो ।
राखेपअन्तर्गत खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख मिनकुमार शर्माले प्रतियोगिताा लागि सात सय ५३ स्थानिय तहमध्ये अधिकांशले छनोट प्रतियोगिता सम्पन्न गरिसकेको र केही स्थानीय तहमा छनोट खेल सञ्चालाका क्रम जारी रहेको जानकारी दिनुभयो ।