त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु)ले क्याम्पस प्रमुखलाई १५ बुँदे मागसहितकाे ध्यानाकर्षण पत्र आज बुझाएको छ । स्ववियुको माग पुरा गर्नका लागि ७२ घण्टे समयावधि समेत उल्लेख गरिएको छ ।
विद्यार्थीका विभिन्न शैक्षिक समस्या समाधन गर्नका लागि स्ववियु अध्यक्ष माधव खत्रीको नेतृत्व क्याम्पस प्रमुख डा.लालमणि आचार्यलाई विभिन्न १५ बुँदे माग पत्र बुझाइएको छ । महेन्द्र बहुमुखी क्याम्पसका स्ववियु अध्यक्ष खत्रीका अनुसार विद्यार्थीका शैक्षिक समस्याहरुका बारेमा मौखिक रुपमा क्याम्पस प्रशासनलाई जानकारी गराउदै आएको र सोको सुनुवाई नभएपछि ध्यानाकर्षण पत्र बुझाइएको बताउनु भयो । उहाँका अनुसार क्याम्पसमा नियमित पठनपाठन हुनुपर्ने, व्यवस्थित पार्किङ हुनुपर्ने, खेल मैदानको निर्माण गरिनुपर्ने, सूचना बोर्ड राखिनुपर्ने, शुद्ध खानेपानीको व्यवस्थापन गर्नुपर्ने, पुस्तकालय तथा होस्टेलको व्यवस्थापन गरिनुपर्ने, शौचालय, कक्षा कोठा तथा क्याम्पस प्राङ्गणको सरसफाइ हुनुपर्ने माग ध्यानाकर्षण सहितको माग पेश गरिएको छ ।
स्ववियु पदाधिकारी सहितको टोलीले ध्यानाकर्षण पत्रमा चमेना गृहको उचित व्यवस्थापन, ल्यावको व्यवस्थापन, कक्षाकोठामा बत्ती, पङ्खा, प्रोजेक्टर, डस्टबिन तथा ह्वाईट बोर्डको व्यवस्थापन गर्नुपर्ने, आन्तरिक स्रोतबाट सञ्चालित कार्यक्रमहरु (बिआईटी, बिसीए, बिएससी सिएसआईटी, बिबिए र बिपिए)का विद्यार्थीहरुसँग सम्बन्धित क्रियाकलापहरु स्ववियुको मातहतमा हुनुपर्ने, सम्पूर्ण सहायक क्याम्पस प्रमुख, विभागीय प्रमुख, कर्मचारी त्रिवि नियमानुसार निर्धारित समय अवधिसम्म आफ्नो कार्यकक्षमा बस्नुपर्ने, सेमेस्टर कार्यक्रमको आयव्यय सार्वजनिक गर्नुपर्ने र सम्पूर्ण विद्यार्थीको परिचयपत्र समान किसिमको गराउनुपर्ने उल्लेख गरिएको छ ।