दुग्ध विकास संस्थाले किसानबाट खरिद गरिने दुधको रकम भुक्तानी गर्न नसकिने भन्दै दुध खरिद गर्न बन्द गर्नु राज्यले किसानमारा नीति लिएको अखिल नेपाल किसान महासंघका केन्द्रीय सचिब एवम लुम्बिनी प्रदेशका पूर्व कृषि तथा सहकारी मन्त्री आरती पौडेलको भनाइ छ । उहाँले किसानले महंगो रकममा गाई भैसी खरिद गर्नु पर्ने बाध्यता र दुध उत्पादनमा सरकारले कुनै पनि सहुलियत नदिएपनि किसानले उत्पादन गरेको दुध समेत खरिद नगरेर मिल्क होली डे जस्ता बहान गरेको बताउनु भयो ।
दुग्ध विकास संस्थाले किसानले उत्पादन गरेका दुध खरिद नगरेको विरोधमा आज बाँकेको कोहलपुरमा किसान अगुवाले तीन बुँदे माग सहितको विरोध कार्यक्रम गरेका थिए । विरोध कार्यक्रममा पौडेलले अगुवा किसानको भेलालाई संबोधन गर्दै सरकार किसानको उत्पादकत्व बृद्धिका लागि सहयोग गर्नु पर्ने कर्तव्यबाट पञ्छिएर किसानलेनै आफ्नो खुद लगानी र मेहनतले उत्पादन गरेको दुध खरिद नगर्नु कर्तव्य विमुखी भएको बताउनु भयो । यसले सरकारले सरासर किसानमारा नीति लिएको प्रमाणित भएको बताउनु भयो ।
अखिल नेपाल किसान महासंघ बाँकेको अगुवाईमा नेपाली किसानहरुले उत्पादन गरेको दुध विना सर्त दुग्ध विकास संस्थानले खरिद गरोस, किसानहरुको दुधको वक्यौता रकम तुरुन्त भुक्तानी गरियोस र दुग्ध विकास संस्थानको मिल्क होली डे बन्द गरियोस भन्दै कोहलपुर चौराहामा विरोध कार्यक्रम गरिएको थियो । महासंघ बाँकेको अगुवाईमा विरोध कार्यक्रम गरिएको महासंघका जिल्ला अध्यक्ष कृष्ण विक्रम केसीले जानकारी दिनु भयो । अध्यक्ष केसीका अनुसार किसानका मागलाई संबोधन नगरिए अझै चरणबद्ध आन्दोलन गरिने बताउनु भयो । उहाँका अनुसार किसानको तीन बुँदे माग संबोधनका लागि बाँकेका अगुवा किसानको सहभागिता र महासंघको नेतृत्वमा आन्दोलन गरिने बताउनु भयो । विरोध कार्यक्रम किसान महासंघका केन्द्र, प्रदेश र जिल्लातहका नेताहरुको सहभागिता रहेको अध्यक्ष केसी जानकारी दिनु भयो ।