त्रिकोणात्मक टी–२० सिरिजको आफ्नो चौथो खेलमा नेपालले नेदरल्याण्ड्सबिरुद्ध कसिलो बलिङ गरेको छ। फाइनलमा पुग्न नेपालका लागि निर्णायक मानिएको खेलमा नेपालले पहिलो ओभरमै नेदरल्याण्ड्सको २ विकेट लिएर दबाब राख्यो।
कुशल मल्ल, प्रतिश जिशी र करण केसीले २–२ विकेट लिए। तीनैजना खेलाडीले एउटै एउटै ओभरमा २–२ विकेट लिएका हुन्।
कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले १४ ओभरको समाप्तिमा ६ विकेट गुमाएर ८२ रन बनाएको छ।
कुशल मल्लले १० औँ ओभरमा २ विकेट लिएपछि नेदरल्याण्ड्स झन् अफ्ठेरो पर्यो। २ दिनअघि नामिबिया विरुद्ध २ सय ४७ रन बनाएको नेदरल्याण्ड्सका लागि शनिबार नेपालविरुद्ध रन बनाउन धेरै गार्हो पर्यो।
मल्लले ९ दशमलब ५ ओभरमा नोय क्रोयसलाई ३ रनमा अविनाश बोहोराबाट क्याच गराए भने ९ दशमलब ६ ओभरमा आर्यन दत्तलाई शून्य रनमा आउट गराए।
त्यसअघि खेलको ९ औँ ओभरमा प्रतिश जिशीले २ विकेट लिएपछि नेदरल्याण्ड्स सुस्ताएको थियो।
उनले ८ दशमलब १ ओभरमा कप्तान स्कट एडवार्डलाई १८ रनमा तथा ८ दशमलब ५ ओभरमा म्याक्स ओ’ डउडलाई ३१ रनमा बोल्ड आउट गरे।
आउट हुनुअघि तेस्रो विकेटका लागि स्कट र क्याक्सबीच ५० रनको साझेदारी भएको थियो।
यसअघि नेपालका तीव्र गतिका बलर करण केसीले नेदरल्याण्ड्सका सुरुवाती दुई ब्याटरलाईे पहिलो ओभरमै आउट गरेका थिए।
करणले ओभरको चौथो र अन्तिम बलमा विकेट लिएका थिए। उनले चौथो बलमा माइकल लेभिटलाई दिपेन्द्रसिंह ऐरीबाट क्याच आउट गराए। यस्तै उनको छैटौं बलमा सिब्रान्ड एंगलब्रेक्ट आशिफ शेखबाट क्याच आउट भए। सुरुमै विकेट लिएपछि दबाबमा आएको नेदरल्याण्ड्सलाई कप्तान स्कट र म्याक्सले सम्हाल्दै लगेका छन्।
आजको खेलमा नेपाल विजयी भए सिरिजको फाइनल पुग्ने सम्भावना प्रवल हुनेछ। सुरुका दुई खेल हारेको नेपालले शुक्रबार नामिबियालाई ३ रनले हराएको छ।
यसअघि भएको पहिलो खेलमा नामिबियासँग २० रन र दोस्रो खेलमा नेदरल्याण्ड्ससँग २ रनको हार भोगेको थियो। नेदरल्याण्ड्सले आइतबार नामिबियासँग खेल्न बाँकी छ। शीर्ष २ स्थानमा रहने टोलीबीच मंगलबार फाइनल खेल हुनेछ।