विश्वविद्यालय उपकुलपतिको चारवर्षे कार्यकाल समाप्त भएका कारण तीन वटा विश्वविद्यालय शनिबारदेखि नेतृत्वविहीन भएका हुन् । कार्यकाल समाप्त भएका उपकुलपतिमा पूर्वाञ्चल विश्वविद्यालका प्राडा यादवराज कोइराला, सुदूरपश्चिम विश्वविद्यालयका प्राडा अमरराज जोशी र मध्यपश्चिमाञ्चल विश्वविद्यालयका प्राडा नन्दबहादुर सिंह रहनुभएको छ ।
तीनै जनाकाे चार वर्षअघि तत्कालीन प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीले २०७६ साल फागुन १९ गते उपकुलपति नियुक्त गर्नुभएको थियो । यी विश्वविद्यालयमा नयाँ उपकुलपति नियुक्त गर्न शिक्षा मन्त्रालयले प्रक्रिया आरम्भ गरे पनि हाललाई स्थगित भएको छ ।