एमालेसँग तत्काल कार्यगत एकता गरेर जान सकिने

नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेकपा (एमाले)सँग तत्कालका लागि कार्यगत एकता गरेर जान सकिने बताउनुभएको छ ।

वामपन्थी एकताको पक्षमा वकालत गर्दै आउनुभएका उहाँले तत्कालका लागि एमालेसँग कार्यगत एकताका साथ अघि बढ्न सकिने सम्भावनाको आँकलन गर्नुभएको हो । सम्मानित नेता खनालले एमालेसँग एकता गरेर जान नहुने भन्ने नरहेको जिकिर गर्नुभयो ।

उहाँले नेताहरुमा रहेका आग्रह, पूर्वाग्रह र इगो अन्त्य गर्न सके एमालेसँगको एकीकरण गर्न कुनै गाह्रो नभएको बताउनुभयो । एकता अङ्कमाल गरेर, रमाइलोसँग भेटघाट गरेर, लड्डु आदि इत्यादि खाएर नहुने सम्मानित नेता खनालको प्रतिक्रिया थियो ।

उहाँले वैचारिक, राजनीतिक कार्यदिशा, नीति र सिद्धान्तमा कुरा मिल्दै गएपछि एमालेसँग एकीकरण गरेर जान कुनै समस्या नहुने स्पष्ट पार्नुभयो । सम्मानित नेता खनालले कार्यगत एकताको आधारमा कम्युनिष्टहरु बीच नै एकीकरणको प्रक्रिया सुरु हुने बताउनुभयो ।