पश्चिम रूकुमबाट काठमाडौँका जाँदै गरेको बस दुर्घटनामा ८ जनाकाे मृत्यु २४ घाइते

पश्चिम रुकुमबाट काठमाडौँका जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नंको बस आज साँझ बागलुङको निसीखोला गाउँपालिका–६ स्थित जाउलेपानीमा दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुगेको छ।  घटनास्थलमै ७ जनाको मृत्यु भएको र अर्का एकजनाको उपचारका लागि लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ। घाइते भएका २४ जनालाई बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको छ।

इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख राजकुमार विकका अनुसार दुर्घटनामा मृत्यु भएकाको शव सङ्कलन भइरहेको छ। मृतकमध्ये चारजना पुरुष र चार महिला रहेको बताइएको छ। मृतकको सनाखत हुन नसकेको उनको भनाइ छ। घाइतेमध्ये २३ जनाको अवस्था गम्भीर रहेको जनाउँदै दुईजनाको अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएकाे छ ।