जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले नयाँ शैक्षिक सत्र २०८१ का लागि छापेको १८ लाख थान पाठ्यपुस्तक नेपालगन्ज आइसकेको छ । लिमिटेडको नेपालगन्जस्थित गोदामबाट लुम्बिनी र कर्णालीका जिल्लाहरुमा उक्त पाठ्यपुस्तकहरु शुक्रबारदेखि वितरण सुरु हुनेछ ।
जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक प्रेस नेपालगन्जका प्रमुख होमराज ढुङ्गेलले लुम्बिनी र कर्णालीका जिल्लाहरुका लागि वितरण गर्न केन्द्रबाट करिब १८ लाख थान पाठ्यपुस्तक नेपालगन्ज आइसकेको बताउनुभयो । केन्द्रबाट प्राप्त भएका १८ लाख थान पुस्तकमध्ये पहिलो चरणमा कर्णालीका जिल्ला हुम्ला र डोल्पामा शुक्रबारदेखि वितरण सुरु गरिने उहाँले जानकारी दिनुभयो ।
“लुम्बिनी र कर्णालीका केही जिल्लाका लागि आवश्यक १८ लाख थान पाठ्यपुस्तक नेपालगन्ज गोदाममा आइसकेको छ, प्राथमिकता अनुसार हिमाली, पहाडी र तराईका जिल्लाहरुमा क्रमशः पुस्तक वितरण गर्दैछौं ।” प्रमुख ढुङ्गेलले भन्नुभयो, “शुक्रबारदेखि कर्णालीका हुम्ला र डोल्पाका लागि पुस्तक वितरण कार्य सुरु गर्दैछौं, त्यहाँका व्यापारीहरु यहाँ आएर प्याकिङकाे काम गर्दै हुनुहुन्छ, अबको हप्ता दिनभित्र ती जिल्लामा पुस्तक पुगिसक्छ ।”
सबै पाठ्यपुस्तक सेटमा नै रहेकाले विद्यार्थीले विद्यालय खुलेको पहिलो दिनमै सम्पूर्ण पाठ्यपुस्तक पाउने गरी तालिका बनाएर वितरण गर्ने योजना मुताबिक प्रादेशिक प्रेस कार्यालय नेपालगन्जले बनाएको र सोही अनुसार गरिने उहाँले बताउनुभयो । नेपालगन्ज कार्यालयमार्फत कर्णालीका हुम्ला, डोल्पा, रुकुमपश्चिम्, जाजरकोट र सल्यान गरी पाँच जिल्ला तथा लुम्बिनी प्रदेशका रुकुमपूर्व, रोल्पा, दाङ, बर्दिया र बाँके गरी पाँच गरी १० जिल्लामा पाठ्यपुस्तक वितरण हुने उहाँले बताउनुभयो ।