चौधरी समूहबाट १० रोपनी जग्गा सरकाको नाममा फिर्ता

पत्रकार सम्मेलनमा, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी

बाँसबारी छाला जुत्ता उद्योगबाट चौधरी समूहले च्याम्पियन फुटवेयरमार्फत हडपेको १० रोपनी जग्गा सरकाको नाममा फिर्ता ल्याइएको छ।सबै प्रक्रिया पूरा गरी जग्गा सरकारको नाममा फिर्ता ल्याइएको आज भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ।

मालपोत कार्यालय डिल्लीबजारले सो जग्गा सरकारकै भएको ठहर गर्दै आज सो निर्णय गरिएको जानकारी गराएको छ। मालपोत ऐन २०३४ को दफा २४ को व्यवस्था अनुसार उक्त जग्गा सरकारको नाममा ल्याइएको कार्यालयका प्रमुख छविलाल नेपालीले जानकारी दिए।

मन्त्रिपरिषद्को निर्णय वा नेपाल सरकारको सहमतिबिना उक्त जग्गा फुटवेयरको नाममा लगिएको थियो। सो विषयमा सांसद विनोद चौधरी, उनका भाइ वसन्त र अरुण चौधरीमाथि सिआइबीले अनुसन्धान गरिरहेको छ।