पाथीभरामा ७५ लाख भन्दा बढी भेटी सङ्कलन

ताप्लेजुङको पाथीभरा मन्दिरमा चैत महिनामा ७५ लाखभन्दा बढी भेटी सङ्कलन भएको छ । पाथीभरामा पूजापाठ गर्न पुगेका भक्तजनले चढाएको भेटीका रूपमा सो बराबरको नगद सङ्कलन गरिएको हो ।

पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङका अनुसार चैतमा ७५ लाख सात हजार एक सय ५० रुपैयाँ भेटी सङ्कलन भएको छ । सङ्कलित भेटी गणना गरी बैंकमा जम्मा गरिएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।

तीन हजार सात सय ९४ मिटरको उचाइमा रहेको पाथीभरा मन्दिरमा दर्शनार्थीले चढाएको भेटी रकम पाथीभरा क्षेत्र विकास समितिले सङ्कलन तथा गणना गरी हरेक महिना सार्वजनिक गर्दै आएको छ ।