कक्षा १२ को भाेलीदेखि हुने परीक्षाको सबै तयारी पूरा भएको छ । राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालका अनुसार ७७ जिल्ला र जापानमा एक गरी एक हजार ५२६ परीक्षा केन्द्र तोकिएका छन्।
यसवर्ष चार लाख ९१ हजार ४९७ विद्यार्थी परीक्षामा सहभागी हुँदैछन् । नियमिततर्फ एक लाख ९६ हजार ९१४ छात्रा र एक लाख ९३ हजार ९३३ छात्र गरी तीन लाख ९० हजार ८४७ परीक्षार्थी छन् । बाँकी भने ग्रेड वृद्धिका विद्यार्थी रहेको उहाँले बताउनुभयो । गत वर्षको तुलनामा यस वर्ष १८ हजार विद्यार्थी बढेकाले परीक्षा केन्द्र पनि थप भएको उहाँको भनाइ छ ।
यसपटक काठमाडौँमा स्वचालित प्रणालीमा परीक्षा केन्द्र निर्धारण गरिएको छ । प्रमुख जिल्ला अधिकारीको अध्यक्षता रहने परीक्षा समन्वय समितिको सिफारिसमा परीक्षा केन्द्र निर्धारण हुँदै आएको थियो । यसो हुँदा मिलेमतो हुने सम्भावना भएको गुनासो बढेपछि स्वचालित प्रणालीमा परीक्षा केन्द्र निर्धारण गरीएको उहाँको भनाइ छ ।
सदस्य सचिव अर्यालले भन्नुभयो, “प्रमुख जिल्ला अधिकारीको अध्यक्षता रहने परीक्षा समन्वय समितिको सिफारिसमा परीक्षा केन्द्र निर्धारण हुँदै आएको थियो । मिलेमतो भएको गुनासो बढेपछि काठमाडौँबाट स्वचालित प्रणाली सुरु गरेका छौँ । आगामी वर्षदेखि सबै जिल्लामा लागू गछौँ ।”
देशभरबाट पाँच हजार पाँच सय ४२ विद्यालयका विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी हुँदैछन् ।एकै विद्यालयको परीक्षार्थी संख्या हेरी सकभर औसतमा १५० भन्दा बढी परीक्षार्थी एकै केन्द्रमा नपर्ने गरी बाँडिएको छ । हिमाली क्षेत्रमा प्रति केन्द्रमा १५०, पहाडी जिल्लामा औषतमा दुई सय र काठमाडौं तथा तराईमा प्रति केन्द्रमा तीन जना विद्यार्थी रहने गरी केन्द्र निर्धारण गरिएको उहाँको भनाइ छ ।
उत्तरपुस्तिका परीक्षण, सम्परीक्षणमा समेत कुन विद्यालयको उत्तरपुस्तिका हो भन्ने पहिचान गर्न मुस्किल पर्ने उहाँले बताउनुभयो ।