देश बनाउने शक्ति एमालेसँग मात्रै छ : अध्यक्ष ओली

पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक सीप एमालेसँग मात्र भएको बताउनुभएको छ । देशलाई समृद्ध बनाउन सक्ने शक्ति एमालेसँग भएकाले अर्थनीति, सुशासनको नीति, विकासको नीतिजस्ता हरेक क्षेत्रका नीति एमालेसँग रहेको दाबी गर्नुभयो ।

इलाममा आयोजित निर्वाचन विजयी सभालाई आज यहाँ सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । “एमाले सय वर्षको हुँदासम्म हरेक क्षेत्रमा नेपाल समृद्ध भइसक्छ । एमालेको नेतृत्वमा नै देशको विकास हुन्छ” उहाँले भन्नुभयो ।

पूर्व प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष ओलीले पहिचानको मुद्दा उठिरहेको सन्दर्भमा हाम्रो पहिलो पहिचान नेपाली भएको बताउनुभयो । “पहिलो पहिचान नेपाली हो । धनी भए धनी नेपाली, गरिब भए गरिब नेपाली, व्यक्तिगत पहिचानले कोही सफल हुँदैन” उहाँले भन्नुभयो “पहिला पनि मेची, कोशी अञ्चल हुँदा त्यसरी नै त बाँडिएको थियो । यो ठुलो कुरा होइन, साझा नाम राख्दा केही बिग्रँदैन ।

एउटा जात र व्यक्तिको पहिचानले सबै समेटिँदैन । बहुजाती बहुभाषिक नेपाली हौँ, एकअर्काको भाषा, संस्कृति, जातिलाई सम्मान गरौँ, त्यो पहिचान हो ।