इजाजत पत्र नलिई स्वास्थ्य संस्था सञ्चालन गर्नेलाई कारबाही हुने

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले इजाजतपत्र नलिई निजी, गैसरकारी, सरकारी वा गैर नाफामुलक  सामुदायिक स्वास्थ्य संस्था सञ्चालन गर्नेलाई कारबाही गर्ने भएको छ ।

मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाका उपसचिव एकदेव खनालले परिपत्र जारी गर्दै इजाजतपत्र नलिई सञ्चालन गर्ने स्वास्थ्य संस्थालाई कारबाही गर्ने चेतावनी दिएको हो ।

केही स्वास्थ्य सेवासँग सम्बन्धी संस्था, अटिजम थेरापी सेन्टर, बाल क्लिनिकलगायत मापदण्ड बमोजिम नभएको गुनासो आएपछि मन्त्रालयले यस्तो चेतावनी दिएको हो।

मन्त्रालयका अनुसार जनस्वास्थ्य सेवा निमायवली २०७७ को नियम १२ को उपनियम (१) मा कसैले पनि इजाजतपत्र नलिई निजी, गैरसरकारी, सरकारी वा गैरनाफामूलक सामुदायिक स्वास्थ्य संस्था सञ्चालन गर्न वा त्यस्तो संस्थाबाट स्वास्थ्य सेवा उपलब्ध गराउनु हुँदैन भन्ने व्यवस्था छ ।

मन्त्रालयले स्वास्थ्य संस्थालाई जनस्वास्थ्य सेवा नियमावली २०७७ बमोजिम सम्बन्धित निकायबाट सञ्चालन अनुमति लिएर एवम् स्वास्थ्य संस्था सञ्चालनसम्बन्धी मापदण्ड, २०७७ तथा अन्य प्रचलित कानुनको पूर्ण पालना गरेर मात्र सञ्चालन गर्न निर्देशन दिएको छ।