जसपा गठन सन्दर्भमा सर्वोच्च अदालतको आदेश न्यायोचित छः अध्यक्ष राई

जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राईले आफ्नो नवगठित पार्टीको सम्बन्धमा सर्वोच्च अदालतले दिएको आदेश न्यायोचित भएको बताउनुभएको छ ।

बिहीबार नयाँ बानेश्वरस्थित सङ्घीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्नुहुँदै अध्यक्ष राईले जनता समाजवादी पार्टी गठनको सम्बन्धमा सर्वोच्च अदालतले दिएको आदेश न्यायोचित भएको बताउनुभएको हो ।

केही दिन अघि राईले उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपाल फुटाएर जनता समाजवादी पार्टी गठन गर्नुभएको थियो । राई नेतृत्वको जसपालाई निर्वाचन आयोगले पनि दल दर्ताको प्रमाणपत्र दिएपछि जसपा नेपालका अध्यक्ष यादवले पार्टी गठन अवैधानिक भएको भन्दै सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो ।

सर्वोच्च अदालतले हाललाई जसपा गठनको सम्बन्धका काम, कारबाहीलाई यथावत राख्न आदेश दिएसँगै उहाँले यस्तो प्रतिक्रिया दिनुभएको हो । उहाँले सर्वोच्च अदालतको आदेश आफूहरुले अपेक्षा गरे अनुरुप नै आएको बताउनुभयो ।