नेपाल भू-बनोट र भौगर्भिक विशिष्टताका कारण जलवायु परिवर्तनको उच्च जोखिममा रहेको छ। जलवायु परिवर्तनले हुने तापक्रम वृद्धिको असर हिमाली क्षेत्रमा बढी परेको छ। यसबाट हिउँ पग्लने, नयाँ हिमताल बन्ने, विद्यमान हिमालको आकार ठुलो हुने र हिमताल फुटेर बाढी आउने जोखिमसमेत बढेको छ। ‘जर्मनवाच’ नामक अन्तर्राष्ट्रिय संस्थाले सन् २०११ मा गरेको दीर्घकालीन जलवायु जोखिम सूचकाङ्क (२०००/२०१९) को अध्ययनअनुसार नेपाल जलवायु परिवर्तनका दृष्टिकोणबाट उच्च जोखिम भएका मुलुकमध्ये १०औँ स्थानमा छ।
जलवायु परिवर्तनजन्य विपद्बाट नेपालले बर्सेनि मानवीय तथा आर्थिक नोक्सानी व्यहोर्दै आएको नेपाल सरकारले आज सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/०८१ आर्थिक सर्वेक्षणमा उल्लेख छ। जलवायु परिवर्तनको असर न्यूनीकरण र अनुकूलनका कार्यक्रम सञ्चालन गर्न नीतिगत, कानुनी तथा संस्थागत व्यवस्था हुँदै आएका छन्।
जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी निकायको मूल्याङ्कन प्रतिवेदनअनुसार पृथ्वीको औसत तापक्रम सन् १८५०–१९०० को तुलनामा एक दशमलव एक डिग्री सेल्सियसले बढिसकेको छ। बढ्दो तापक्रमका कारण मानव समुदाय र पारिस्थितिकीय प्रणालीबिचको सन्तुलन कायम गर्ने चुनौती बढेको छ।
आर्थिक सर्वेक्षणअनुसार मानवसिर्जित क्रियाकलापका कारण जलवायु परिवर्तनजन्य विपद् बढ्दै गएका छन्। उच्च तापक्रम, बेमौसमी वर्षा र अति वर्षा तथा सुख्खापनजस्ता कारणबाट उत्पादन र उत्पादकत्वमा ह्रास आई रोजगारी, आय र मानिसको जीविकोपार्जनमा गहिरो प्रभाव परेको छ।