नेपाल विश्वकपको ‘वार्मअप’ खेलमा क्यानडाको सामना भिड्दै

अमेरिका र वेस्ट इन्डिजमा जुन १ तारिख देखि सुरु हुने आइसिसी टी–२० विश्वकपको अन्तिम तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले सोमबार (आज) राति पहिलो ‘वार्मअप’ खेलमा क्यानडाको सामना गर्दैछ ।

विश्वकप अघि आइसिसीले तय गरिदिएको दुई ‘वार्मअप’ खेलमध्ये नेपालले पहिलो खेल क्यानडासँग खेल्न लागेको हो । डालासमा हुने खेलमा जित निकाल्दै नेपाल विश्वककअघि बलियो मानसिकता बनाउने तयारीमा छ । नेपालले दोस्रो खेल बिहीबार आयोजक अमेरिकासँग खेल्नेछ ।

त्यसपछि नेपालले सिधै विश्वकप खेल्नेछ । नेपालले डालासमै नेदरल्यान्ड्ससँग जुन ४ तारिख खेल्दै विश्वकपको सुरुवात गर्नेछ । विश्वकपको समूह ‘डी’ मा रहेको नेपालले समूह चरणको दोस्रो खेल जुन १२ मा श्रीलङ्का, तेस्रो खेल जुन १५ मा दक्षिण अफ्रिका र चौथो खेल जुन १७ तारिख बङ्गलादेशसँग खेल्नेछ ।