आज १७औं गणतन्त्र दिवस

आज १७औं गणतन्त्र दिवस। नेपाली जनताको सङ्घर्ष, बलिदान र परिवर्तनसँग जोडिएको गणतन्त्र स्थापनाका अवसरमा आज राष्ट्रिय दिवस मनाइँदैछ।

तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी)को सशस्त्र युद्ध र सात संसदवादी राजनीतिक दलको शान्तिपूर्ण आन्दोलनको जगमा तत्कालीन राजा ज्ञानेन्द्र शाहले आफ्नो प्रत्यक्ष शासनसत्तालाई जनतालाई फिर्ता गर्दै २०६३ वैशाख ११ गते तत्कालीन संसद् पुनःस्थापना गरेका थिए।

त्यसपछि गठित सरकारबाट भएको संविधानसभाको निर्वाचनबाट निर्वाचित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते व्यवस्थापिका–संसद्बाट गणतन्त्र स्थापनाको घोषणा गरेको थियो। यही ऐतिहासिक दिनलाई प्रत्येक वर्ष गणतन्त्र दिवसका रूपमा मनाइन्छ।

गणतन्त्र दिवसको अवसरमा आज देशभर विविध कार्यक्रम आयोजना गरिंदै छ। काठमाडौंको टुँडिखेलस्थित सैनिक मञ्चमा गणतन्त्र मूल समारोह समितिले विशेष समारोह आयोजना गर्नेछ। समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल उपस्थित हुनेछन्।

दिवसका अवसरमा राष्ट्रपति, प्रधानमन्त्रीलगायत उच्चपदस्थ व्यक्तिले शुभकामना दिएका छन्।