प्रधानमन्त्री दाहाल र भारतका राष्ट्रपतिबिच भेट

भारतको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार  गर्नुभएको छ । नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा सोमबार प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति मुर्मुसँग भेट गर्नुभएको हो ।

सो अवसरमा राष्ट्रपति मुर्मु र प्रधानमन्त्री प्रचण्डबिच नेपाल–भारतबिच सदियौंदेखि रहिआएको आपसी सम्बन्ध र द्विपक्षीय हितका विविध विषयमा छलफल भएको थियो । त्यसैगरी उहाँहरूबिच दुई देशबिचका जनतामाझको परम्परागत सम्बन्धलाई थप प्रगाढ तुल्याउने विषयमा छलफल भएको थियो ।

प्रधानमन्त्री प्रचण्ड आइतबार साँझ प्रधानमन्त्री मोदीको सशथ ग्रहण समारोहमा सहभागी हुनुभएको थियो । सपथ ग्रहणपछि प्रधानमन्त्री प्रचण्ड र उहाँका समकक्षी मोदीबिच भेटवार्ता भएको थियो ।

सो भेटमा प्रधानमन्त्रीले लगातार तेस्रो कार्यकालका लागि भारतको प्रधानमन्त्रीको पदभार ग्रहण गर्नुभएकोमा प्रधानमन्त्री मोदीलाई बधाइ दिँदै उहाँको आगामी कार्यकालमा नेपाल र भारतबिचको सम्बन्ध थप उचाइँमा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *