करेन्ट लागेर एक बालकको मृत्यु

बाटोमा चुँडिएको बिजुलीको तारबाट करेन्ट लागेर अछामको तुर्माखाँद गाउँपालिकामा मङ्गलबार दिउँसो एक बालकको ज्यान गएको छ । तुर्माखाँद गाउँपालिका–७ को कालाखोला नजिक सोही गाउँपालिका–६ रानीवन निवासी धर्म कामीका छोरा अन्दाजी १५ वर्षीय बिमल कामीको ज्यान गएको हो । करेन्ट लागेर बिमलको घटनास्थलमै ज्यान गएको स्थानीय गणेश बहादुर शाहीले जानकारी दिनुभयो । मृतक र उनका भाइ झंकर विक तुर्माखाँद गाउँपालिकामा अध्ययन सामग्री किन्न गइरहेका बेला घटना भएको बताइएको छ ।